
काठमान्डौ/हप्ताको अन्तिम दिन अर्थात् शुक्रबार आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यस दिन घटेको हो ।
बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेर हाल सम्मकै उच्च बिन्दु कायम गरेको सुनको मूल्य यस दिन प्रतितोला आठ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ ।
बिहीबार प्रतितोला १४ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो ।