क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई

Share:

काठमान्डौ/भरतपुरस्थिति विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त भएपछि आर्थिक अधिकार अध्यक्षलाई दिइएको छ । कार्यकारी निर्देशकको अभावमा आर्थिक क्रियाकलाप ठप्प भएपछि अध्यक्ष डा विजयराज न्यौपानेलाई अधिकार दिइएको हो ।

 

अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक चयन नहुञ्जेलसम्मका लागि आर्थिक अधिकार अध्यक्ष डा. न्यौपानेलाई दिएको हो । अध्यक्ष डा. न्यौपानेका अनुसार कार्यकारी निर्देशक नियुक्ति नहुन्जेलसम्मका लागि कर्मचारी, चिकित्सकको तलब लगायतका भुक्तानी दिनका लागि आर्थिक अधिकार अध्यक्षलाई दिने निर्णय भएको छ । अध्यक्ष डा. न्यौपानेले भने, ‘अल्पकालीन रुपमा दैनिक आर्थिक क्रियाकलाप सञ्चालन गर्न र कर्मचारीलाई तलब खुवाउन बैठकले मलाई आर्थिक अधिकार दिएको छ ।’

 

समितिमा कार्यकारी निर्देशक सिफारिस समिति गठनका विषयमा छलफल गरे पनि टुङ्गो लाग्न सकेको छैन । सिफारिस समितिमा कोको रहने भन्ने विषयमा नै कुरा नमिलेपछि बैठकले यस विषयमा ठोस निर्णय गर्न नसकेको हो । सञ्चालक समितिले सिफारिस समिति बनाएर सोही समितिले कार्यकारीको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ । सिफारिस समितिले सिफारिस गरेका नाम मध्येबाट कुनै एकजना व्यक्तिलाई उपयुक्तताका आधारमा कार्यकारी निर्देशकको पदमा नियुक्त गर्ने ऐनमा व्यवस्था छ ।

Share: