Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दूध उत्पादक किसानलाई अनुदान – Lekhanpeeth

दूध उत्पादक किसानलाई अनुदान

Share:

काठमान्डौ/नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रू १० अनुदान दिने भएको छ । किसानलाई प्रोत्साहन गरी पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

 

गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८/७९ देखि किसानलाई अनुदान दिन थालिएको बताउँदै सहकारीमार्फत प्रतिलिटर रू १० का दरले रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो । उनका अनुसार गत आवमा प्रतिलिटर रू पाँच अनुदान दिइएको थियो ।

 

अनुदान रकम साना किसानसम्म पुर्‍याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणका आधारमा प्रदान गरिने अध्यक्ष पाण्डले बताए । ‘गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीले उपलब्ध गराएको वार्षिक तथ्याङ्कको आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ’, उनले भने, ‘किसानलाई प्रोत्साहन गरी गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले यस आव देखि शतप्रतिशत अनुदान रकम वृद्धि गरेका छौँ ।’

 

गत आवमा दुई सहकारी संस्थामार्फत किसानलाई अनुदान उपलब्ध गराइएको गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले बताए । कुल ५७ हजार तीन सय २३ लिटर दूधमा प्रतिलिटर रू पाँचका दरले रू दुई लाख ८६ हजार छ सय १९ प्रदान गरिएको उनले जानकारी दिए । ‘गत वर्ष सहिद प्रदुक बहुउद्देश्य सहकारी संस्थालाई २२ हजार १६ लिटर दूधबापत रू एक लाख १० हजार ८० र साना किसान कृषि सहकारी संस्थालाई रू ३५ हजार तीन सय सात लिटर दूधका लागि रू एक लाख ७६ हजार पाँच सय ३९ उपलब्ध गराएका हौँ’, उनले भने ।

 

यस वर्ष गत वर्षको तुलनामा बढी दूध उत्पादन हुने अनुमान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरेले बताए । ‘पालिकालाई दुग्ध उत्पादमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्’, उनले भने, ‘यहाँको पहाडी क्षेत्रमा पशुपालन गर्ने किसान कम भएकाले दूध उत्पादन कम भएको हो । यस वर्ष किसानको सङ्ख्या पनि बढ्ने अनुमान गरेका छौँ ।’

 

चालू आवमा ‘दूधमा अनुदान कार्यक्रम’अन्तर्गत रू पाँच लाख बजेट विनियोजन गरिएको अधिकृत घिमिरेले जानकारी दिए । किसानका पक्षमा पालिकाले काम गरिरहेको यहाँका पशुपालक किसानले बताएका छन् । सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैका लागि अनुकरणीय रहेको किसान जीवन लम्सालले बताए । यस्ता कार्यक्रमले साना किसानलाई प्रोत्साहन मिलेको उनको भनाइ थियो ।

Share: