
काठमान्डौ/नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागले आर्थिक वर्ष २०७९/८० को अवधिमा ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो ।
विभागका महानिर्देशक दिनानाथ मिश्रका अनुसार पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विभागले विशेष निगरानी बढाइएको छ ।
‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको पाइएको छ,’ महानिर्देशक मिश्रले भने । विभागले समयमा अनुमतिपत्र नलिएका, जाँच नगराएका, नामसारी नगराएका र नापतौलमा घटीबढी गरेका व्यापारीलाई कारबाही गरेको हो ।
सबैभन्दा धेरै काठमाडौं कार्यालयले कारबाही गरेको छ । काठमाडौं कार्यालयले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ । गत आवमा काठमाडौंमा मात्र ११ हजार ४९१ व्यापारी कारबाहीमा परेका छन् । पोखरामा दुई हजार १८९, बुटवलमा एक हजार २४४, नेपालगञ्जमा एक हजार ४७९, सुर्खेतमा ५०१ तथा धनगढीमा एक हजार २६ व्यापारी कारबाहीमा परेका छन् ।
यस्तै, सिलगढीमा २०२, वीरगञ्जमा एक हजार ४३६, जनकपुरमा ७२५, विराटनगरमा दुई हजार ४०६ र झापामा एक हजार ३३४ व्यापारी कारबाही गरिएको विभागका प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिइन् । गुणस्तर र नापतौलका नाममा उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उनी बताउँछिन् ।
‘जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाही तीव्र पारेका छौँ,’ प्रवक्ता भट्ट भन्छिन् । नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । विभागले देशभर नापतौलका लागि नयाँ इजाजत तथा प्रमाणपत्र दिने, इजाजत नलिएका व्यापारीलाई कारबाही गर्ने, ट्याक्सीको जाँच गर्नेलगायतका कामबाट रु सात करोड १६ लाख राजस्व सङ्कलन गरेको छ ।