सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

275
0
Share:

काठमान्डौ/काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रूपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-३ स्थायी घर भएको सतेन्द्र अधिकारी भन्ने सत्यन्द्रप्रसाद यादव रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

 

उनका अनुसार पक्राउ परेका यादवले आफूलाई वीर अस्पतालको डा. तथा नेपाल सरकार गृह मन्त्रालयको कर्मचारी रहेको भनी जाहेरवालालाई वीर अस्पतालमा जागिरसमेत लगाइ दिन्छु र निजको आफन्तलाई वैदेशिक रोजगारको लागि क्यानडा इजरायल लगायतका देशमा सरकारी कोटामा पठाइ दिने भन्दै विभिन्न व्यक्तिका राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र लागि विभिन्न प्रलोभन र प्रभावमा पारी रु ३० लाख ५५ हजार लिई ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा निजलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो ।

 

यसैगरी निजले विकास पाण्डे नाम गरेको व्यक्तिको मोटरसाइकलको बिलवुकमा आफ्नो फोटो टाँसी किर्ते गरेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका सतेन्द्रप्रसाद अधिकारी भन्ने सत्यन्द्र यादवलाई ठगी सम्बन्धी कसुर र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।

 

त्यस्तै सर्वोच्च अदालतका न्यायाधीश नहकूल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रहरी नायब निरीक्षक प्रभाकार खड्काको पेस्तोल चोरी गरी पक्राउ परेका दुई जनाको आज प्रहरीले अदालतबाट म्याद थप गरेको छ ।

 

उक्त प्रकरणमा सिन्धुपाल्चोक बारबिसे-३ का २१ वर्षीय वासुदेव थामी र सिन्धुली गोलान्जोर-४ का २७ वर्षीय मेगबहादुर तामाङलाई शुक्रबार साँझ पक्राउ गरी आज थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए ।

 

उनका अनुसार पक्राउ परेका थामी र तामाङलाई आज जिल्ला अदालतबाट म्याद थप गरी उक्त घटनाका विषयमा थप आवश्यक अनुसन्धान भइरहेको छ । चोरी गरिएको पेस्तोल तथा त्यसमा लाग्ने सात राउण्ड गोलीसहित म्यागेजिन बौद्धको साघुँ नजिकैबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ

Share: