काठे पुलले सहज बनायो यात्रा

238
0
Share:

काठमान्डौ/बागलुङको ताराखोला गाउँपालिका–४ नागबेली खोला हुँदै म्याग्दी जोड्ने मोटरबाटो निर्माण भएको वर्षौँ बित्यो । तर अहिलेसम्म पक्की मोटरेवल पुनःनिर्माण हुनसकेको छैन । मोटरेवल पुल निर्माण नहुँदा ताराखोला र म्याग्दीका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य थिए ।

 

हिउँदमा यातायातका साधान सहजै वारपार गर्न सके पनि बर्खामा पानीको बहाव बढ्दा सिधा यात्रा हुन सक्दैनथ्यो । बर्खा लाग्ने वित्तिकै गाडी रोकिन्थे । तर अहिलेको बर्खामा भने गाडी नियमित सञ्चालन भइरहेका छन् । गाउँपालिकाको लगानी र स्थानीयवासीको जनश्रमदानबाट अहिले दोगाडीघाटमा अस्थायी मोटरेवल पुल बनेको छ । अस्थायी मोटरेवल पुल निर्माण भएपछि सवारी साधनको ओहोरदोहारमा सहजता भएको छ । १० वर्ष अगाडि निर्माण भएको मोटरबाटोमा यस वर्षको बर्खामा गाडी गुड्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।

 

असारको सुरुवातदेखि नै खोला बढेपछि करिब चार महिना यातायात सञ्चालन हुँदैनथ्यो । बर्खामा गाडी नचल्दा स्थानीयवासीले निकै समस्या झेल्दै आएका थिए । अस्थायी पुलले ताराखोला र म्याग्दीका नागरिकको दैनिकीसमेत फेरिन थालेको स्थानीयवासी व्यवसायी रणबहादुर रोकाले बताउनुभयो । उहाँले पुल नहुँदा गाउँमा उत्पादन भएका कृषिजन्य वस्तु बजारीकरण गर्न र बजारबाट सामान ढुवानी गर्न समस्या भएको स्मरण गर्दै अहिलेको बर्खामा सहज भएको बताउनुभयो ।

 

पुलका नबन्दा वर्षौदेखि व्यवसाय सञ्चालन गर्दा धेरै सास्ती खेप्दै आएको सुनाउँदै अहिले बर्खामा पनि बजारबाट सामान ल्याएर बेचेको बताउनुहुन्छ । ‘पुल बनेपछि अहिले धेरै सजिलो भएको छ, पहिले–पहिले त केही समान बोकेर ल्याउनु पर्दा करिब दुई घण्टा लाग्थ्यो, गाडी चल्न सक्दैथे, यहाँ त आलु राम्रो उत्पादन हुने, यही सिजनमा खन्ने हुँदा बजारीकरण गर्न पनि सकिदैनथ्यो, समयमा बजारमा पु¥याउन नसक्दा आलु कुहिएर नोक्सान व्यहोर्नु पथ्र्यो,’ व्यवसायी रोकाले भन्नुभयो ‘अहिले त चाहिएको सामान समयमै बजारबाट ल्याएर बेच्न पाइएको छ, यहाँ उत्पादन भएका आलु लगायतका कृषिजन्य सामान पनि निर्यातमा सहज भएको छ ।’

 

गाउँ–गाउँमा मोटरबाटो पुगे पनि पुल नबन्दा वर्षौदेखि स्थानीयवासी मारमा पर्दै आएका थिए । अस्थायी पुल निर्माण भएपछि अहिले गाउँसम्म गाडी पुग्ने गरेको स्थानीय सतिसबहादुर भण्डारीले बताउनुभयो । गाउँगाउँसम्म सवारीसाधन जान नसक्दा बिरामीलाई अस्पताल पुर्याउन र सामान ढुवानीमा समस्या भएको भन्दै दोगाडी घाटमा पुल बनेपछि धेरै सहज भएको उहाँको भनाइ छ ।

 

पुलको अभावमा स्थानीयवासीले झेल्नुपरेको समस्याका बारेमा गाउँपालिकाका अध्यक्षसँग बारम्बार जानकारी गराएपछि अहिले पुल निर्माण भएको स्थानीय भण्डारीको भनाइ छ ।

 

‘पुल नहुँदा यात्रा गर्नै कठिन भयो, वर्षौँदेखि ज्यान हत्केलामा राखेर यात्रा गर्दै आएका थियौँ, अहिले अस्थायी भए पनि पुल बन्यो, पुल निर्माणका लागि सरोकारवाला निकायलाई धेरै पटक आग्रह गर्याे, अहिले पुल बन्यो,’ उहाँले भन्नुभयो–’गाउँपालिकाले अस्थायी पुल निर्माणको लागि बजेट व्यवस्था गरीदिनु भयो र स्थानीयको जनश्रमदानबाट पुल बनाउन सफल भएका छौँ, अहिले गाडी नियमति चलेका छन् ।’ पुल निर्माण समितिका अध्यक्ष कोखबहादुर रोकाले ताराखोला गाउँपालिकाले विनयोजन गरेको सात लाख ५० हजार र स्थानीयवासीको करिब ५० प्रतिशत जनसहभागिताबाट पुल निर्माण भएको जानकारी दिनुभयो । गाउँपालिकाबाट प्राप्त भएको रकमले आवश्यक समग्री खरिद गरेको र अन्य काम जनश्रमदानबाट भएको उहाँको भनाइ छ । पुल निर्माणका लागि यहाँका एक सय पाँच घरधुरीका स्थानीयवासीले आठ दिनसम्म जनश्रम गरेको अध्यक्ष रोकाले बताउनुभयो ।

 

नौ मिटर लामो र चार मिटर चौडाइ रहेको अस्थायी पुलमा दुवैतर्फ आठ फिट ढलाल वाल उठाइएको छ, भने फलामका चार वटा च्यानल प्रयोग गरी त्यसमाथि काठ राखेर पुल निर्माण गरिएको छ । पुल निर्माणपछि नागबेली खोलाका विभिन्न स्थानमा सवारीसाधन आवतजावत गर्न भइरहेको उहाँको भनाइ छ । दोगाडीघाटबाट नागबेलीखोला हुदै म्याग्दीको मङ्गला गाउँपालिकासम्मको यात्रा पनि सहज भएको रोकाले बताउनुभयो । ‘ढिलै भए पनि नागबेली खोलामा पुल निर्माण गर्याे, यसले हाम्रो ताराखोला गाउँपालिकासँगै म्याग्दीको मङ्गला गाउँपालिकाका स्थानीयलाई पनि यात्रा गर्न सहज हुने भएको छ, पुल बन्दा यहाँका धेरै स्थानीयवासी खुसी भएका छन्, असारदेखि यातायात बन्द हुन्थ्यो, दसैँ बेला मात्रै अलिअलि खुल्थ्यो,’ अध्यक्ष रोकाले भन्नुभयो’मान्छे घण्टौँ लगाएर पैदलयात्रा गर्न बाध्य थिए, तर यसपाली पुल बनेपछि निरन्तर गाडी चलिरहेका छन्, यसले हामीलाई धेरै सहज बनाएको छ, समय–समयमा मर्मत सम्भार त गर्नुपर्छ, पक्की पुल नबन्दासम्म यसले यात्रालाई सजिलो मनाउने नै छ ।’

Share: