
काठमान्डौ/ससंकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भोजपुरको एक मात्र विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल तथा कन्ट्रोल टावर भवनको शिलान्यास गरेका छन् ।
भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको विमानस्थलमा बन्न लागेको भवनको मन्त्री किराँतीले शुक्रबार मुन्दुम तथा सनातन विधिअनुसार शिलान्यास गरेका हुन्। सो क्रममा उहाँले सुविधा सम्पन्न टर्मिनल भवन निर्माणसँगै आगामी दिनमा ठूला जहाज उडानका लागि पहल गर्दै लानुपर्ने बताए।
एक जनाले मात्र सुविधा पाए पनि पहाडी विमानस्थलहरू सुविधा सम्पन्न हुनुपर्ने मन्त्री किरातीको भनाइ छ । नेपाल वायुसेवा निगमले अन्य क्षेत्रमा देखिएका विकृति विसङ्गति अन्त्यका लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्न जरुरी रहेको उनले बताए । आरवी उर्वन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले निर्माण गर्न लागेको भवनको कूल लागत रु पाँच करोड ४५ लाख रहेको नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
आगामी डेढ वर्षभित्रमा निर्माण कार्य सम्पन्न हुने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुने भवन एक सय जनाले एकै पटक उपयोग गर्न सक्ने छन् । पहाडी क्षेत्रहरूमा सञ्चालन भई विमानस्थलबाट नाफा नभए पनि सेवा मात्र दिने कार्य भइरहेको बताउँदै महानिर्देशक अधिकारीले ५५ विमानस्थलमध्ये हाल ३३ वटा मात्र सञ्चालनमा आएको बताए ।
भोजपुर विमानस्थलको कूल क्षेत्रफल एक सय ३२ रोपनी रहेको छ भने पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको धावनमार्ग छ । भोजपुरमा हाल नेपाल वायुसेवा निगमको जहाजले मात्र भोजपुर–काठमाडौँ उडान गर्दै आइरहेको छ । करिब ४५ वर्षदेखि सञ्चालनमा आएको विमानस्थलको धावनमार्ग २०७४ सालमा कालोपत्र भएको थियो । शिलान्न्यासका क्रममा भोजपुरबाट निर्वाचित कोशी प्रदेशसभा सदस्य बिनोद बान्तवा र भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले भवन निर्माणसँगै भोजपुर जस्तो दुर्गम जिल्लाका नागरिकहरूले अझै प्रभावकारी सेवा पाउने बताएका थिए ।