Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अस्पतालबाट निःशुल्क सेवा लिन मन्त्री जोशीको अनुरोध – Lekhanpeeth

अस्पतालबाट निःशुल्क सेवा लिन मन्त्री जोशीको अनुरोध

Share:

काठमान्डौ/बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा अस्पतालका आठ सय एक शय्या निःशुल्क गरिएको भन्दै उक्त सेवा लिन अनुरोध गरे। गत आर्थिक वर्ष २०७९/८० मा ती अस्पतालबाट सात लाख ५५ हजार २४ बिरामीले सेवा लिएका छन् । मन्त्री जोशीले भने, ‘अहिले गरिब र विपन्न नागरिकलाई निःशुल्क शय्या उपलब्ध गराएका छौँ भने आगामी दिनमा सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्दै जानेछौँ ।’ प्रदेशका प्रयोगशालामा सर्वसुलभ रुपमा सेवा दिइएको भन्दै डेङ्गु परीक्षण निःशुल्क गरिएको जानकारी दिए ।

 

मन्त्री जोशीले प्रदेशभित्रका सिमान्तकृत, सबै आश्रममा रहेका व्यक्ति, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति र स्वयम् सेविकालाई निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको बताए। उनले पक्षघात र मस्तिष्क घात भएका बिरामीलाई उपचारमा सहुलियत दिइएको, उनीहरुलाई आयुर्वेद अस्पतालमा निःशुल्क फिजियोथेरापीको व्यवस्था गरिएको जानकारी दिए। मन्त्री जोशीले भने, ‘कमजोर आर्थिक अवस्थाका कारण कसैको उपचार रोकिनु हुँदैन, प्रदेशका अन्य अस्पतालले १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्छ ।’ निजी अस्पताललाई पनि यसअघिनै १० प्रतिशत शय्या निःशुल्क गर्न निर्देशन दिइसकिएको छ ।

Share: