
काठमान्डौ/प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले बालबालिकाका क्षेत्रमा राज्यको लगानी घटाउन नहुने बताएका छिन् ।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को २१औँ स्थापना दिवस र साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले राष्ट्रिय बाल कल्याण परिषद्को बजेट कटौती भएको भन्दै चिन्ता व्यक्त गरिन् ।
उपसभामुख रानाले सडक बालबालिकाको उद्धार, राहत र पुनःस्थापनाका साथै बालविवाहको अन्त्य र उनीहरुको शिक्षा तथा पोषणमा सरकार र गैरसरकारी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिइन् । उनिले ‘सिजप दुई दशक’ पुस्तकको लोकार्पण पनि गरिन् ।
परिषद्का सदस्य सचिव इन्द्रदेवी ढकालले बालबालिकाका क्षेत्रमा गर्नुपर्ने कामका लागि स्रोत र साधनको पर्याप्तता नभए पनि आफूहरुले सक्दो प्रयास गरेको बताइन् । राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधानले अभियानलाई परियोजनाका आधारमा नभई वास्तविक अभियानका रुपमा सञ्चालन गर्न आग्रह गरिन् ।
सिजपका अध्यक्ष राजेश शर्माले बालअधिकारका क्षेत्रमा खबरदारी र नीतिगत पैरवी गर्ने सञ्जालका रुपमा अभियानलाई अगाडि बढाइने बताइन् । कार्यक्रममा सो अभियानका पूर्वअध्यक्ष र संस्थापकलाई सम्मान गरिएको थियो । साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।