Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
तनहुँ अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी – Lekhanpeeth

तनहुँ अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी

Share:

काठमाँडौ/आर्थिक वर्ष २०७९/८० मा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका बढी रहेका छन् । अदालतमा कूल दुई हजार नौ सय २४ मुद्दा दर्ता भएकामा नौ सय २७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।

 

त्यसमध्ये सात सय ५९ फर्छ्यौट भई एक सय ६८ सम्बन्धविच्छेदका मुद्दा फर्छ्यौटको चरणमा रहेको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए । त्यसै गरी कूल दर्ता भएका मुद्दामध्ये एक हजार आठ सय २३ फर्छ्यौट भई एक हजार एक सय एक मुद्दा फर्छ्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ ।

 

अन्य मुद्दाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा बढिरहेका छन् । त्यसअनुरूप कूल मुद्दाको ३१ दशमलव सात प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन् । वैदेशिक रोजगारीमा गएका व्यक्तिका पत्नी, सानै उमेरमा प्रेम विवाह गरेका र उमेर परिपक्व भएपछि आपसी कुराकानी नमिल्दा सम्बन्धविच्छेद हुने गरेको उनले बताए ।

 

त्यसै गरी अन्तरजातीय विवाहपश्चात् घरपरिवारले नस्विकार्दा, अपेक्षाअनुरूप महिलाको माग पूर्ति नहुँदा, समयमा मायाप्रेम नपाउँदा आत्मसम्मानबाट अपहेलित हुँदा लगायतका घटनाबाट पनि महिलाले सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ । अदालतमा मुद्दा ल्याएर दण्ड दिइनु मात्रै विकल्प नभएकाले मनोसामाजिक परामर्श दिन आवश्यक देखिएको जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले बताए ।

 

‘मानिसमा अझै पनि सचेतना जगाउन आवश्यक छ’, उनले भने, ‘यस्ता कार्यलाई न्यूनीकरण गर्दै कानुनी कारबाहीमा कमी ल्याउन सक्नुपर्छ ।’ त्यसै गरी अंशबन्डाका पाँच सय नौ मुद्दामा दुई सय ५९ फर्छ्यौट भई दुई सय ५० बाँकी रहेका छन् । विवाहसम्बन्धी ३० मध्ये १५ फर्छ्यौट भएका छन् भने १५ बाँकी रहेका छन् । लिखत बदरका एक सय ७६ मा ७० फर्छ्यौट भई एक सय छ प्रक्रियामा रहेका छन् । त्यसै गरी लेनदेनका एक सय २७ मध्ये ८२ फर्छ्यौट भई ४५ प्रक्रियामा रहेका छन् ।

 

जग्गासम्बन्धी २४ मध्ये १३ फर्छ्यौट भएका छन् भने ११ फर्छ्यौट हुन बाँकी रहेको सो कार्यालयले जनाएको छ । बहुविवाहका २३ मध्ये १२ फर्छ्यौट भई ११ मुद्दा प्रक्रियामा रहेका छन् । त्यसै गरी जबर्जस्ती करणीका ७२, कर्तव्य ज्यानका ३४, ज्यान मार्ने उद्योगका २३, आत्महत्या दुरुत्साहनका आठ, हाडनाताका आठ मुद्दा दर्ता भएको स्रेस्तेदार पौडेलले बताए ।

 

त्यसै गरी जबर्जस्ती करणी उद्योगका छ, बालयौन दुरुपयोगका चार, गर्भपतनका तीन, छुवाछूतका दुई र बालविवाहका एक लगायतका मुद्दा दर्ता भएकामा करिब ५० प्रतिशत मुद्दा फर्छ्यौट भइसकेका छन् ।

Share: