
काठमान्डौ/नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याएका छन् । काठमान्डौमा आयोजित नेपाल विद्यार्थी सङ्घ र तरुणदलका नेताहरुसँग आज भएको छलफलमा उनले युवा कांग्रेस आजको आवश्यकता भएको धारणा राखे । ‘पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनुका साथै युवा कांग्रेस गठन समेत आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन गर्नुपर्छ । जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस’, उनले भने ।
युवा कांग्रेसलाई भ्रातृ संगठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग, पेशा र दलबाट कांग्रेसका काम गर्न चाहना राखेर नेताका लागि पाठशालाका रुपमा विकास गर्न सकिने उनको भनाइ छ । पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यवहारिक सीप सिकाउने थलोका रुपमा युवा कांग्रेस बनाउन सकिने उनको अवधारणा छ । ‘पार्टीको महासमिति र महाधिवेशनमा पनि मैले यो मुद्दा उठाएको थिएँ । अहिले यसको सान्दर्भिकता झनै बढ्दै गएको छ । नयाँ पार्टीहरु आएका छन् । हामीले पनि नागरिकमा नयाँ आभास गराउन युवा कांग्रेस गठन गर्नुपर्छ’, उनले भने ।
विसं २०५१ सालको मध्यावधि निर्वाचनपछि पार्टीमा संकट देखिँदा २०५४ सालमा तरुण दल ब्यूँताइएको स्मरण गर्दै नेता महरले अहिले पनि युवा कांग्रेस बनाउनु आवश्यकता भएकोमा जोड दिए। ‘विसं २०५१ सालपछि पार्टीमा संकट देखियो । त्यसपछि तरुण दलका कारण कांग्रेसलाई बलियो बनाउन सहयोग पुग्यो । विसं २०५६ मा कांग्रेसले बहुमत प्राप्त पनि गरेको थियो’, उनले भने, ‘अहिले पनि पार्टीमा संकट देखिएको छ । युवा कांग्रेस गठन गर्दा पार्टीलाई संकटबाट बाहिर निकाल्न मद्दत पुग्छ । यसमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदछु ।’
पार्टीमा वैचारिक बहस सुस्ताएको भन्दै युवा कांग्रेसमार्फत त्यसको उठान गर्न सकिने उनको विश्वास छ । राजनीतिक दलका नेता कार्यकर्ताले विकास, राजनीति, समाज, अर्थतन्त्र र नैतिक अनुशासन सिक्ने तालिम केन्द्रका रुपमा युवा कांग्रेसलाई बिकास गर्न सकिने उनको भनाइ छ । उनले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिका लागि पनि युवा कांग्रेस पार्टी प्रवेशको द्वार बनाउन सकिने बताए ।