‘मेरो मौनतालाई कमजोरी नठानियोस्’ : नम्रता श्रेष्ठ

Share:

काठमान्डौ/नायिका नम्रता श्रेष्ठले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएकी छन् । मौन रहनु गल्ती स्वीकार गर्नु नभएको उनले स्पष्ट पारेकी छन् । सारुक ताम्राकारको आत्महत्यासँग आफूलाई जोडेर भ्रामक र एक पक्षीय समाचार आएको भन्दै उनले यसबारे आफ्नो कानुनी टिमले अध्ययन गरिरहेको बताएकी छन् । आफू विरामी रहेका कारण मिडियामा नआएको उनको भनाइ छ ।
फेसबुकमा लामो स्टाटस लेख्दै पहिलोपटक नम्रताले आफ्नो भनाइ राखेकी हुन् । उनले शारुक एक सम्भावना बोकेको, सहयोगी र मिलनसार व्यक्तिका रुपमा चित्रण गर्दै घटनाले आफूलाई अचम्भित तुल्याएको बताएकी छन् ।

 

यो घटनालाई लिएरु एकतर्फीरूपमा विभिन्न मिडियामार्फत समाचोर लेख्न लगाइएको तथा केही चलचित्रकर्मी र चलचित्रका पदाधिकारी नै पूर्वाग्रही किसिमले आफूविरुद्ध लागेको नम्रताको टिप्पणी छ । ‘मेरो परिवार र हाम्रो कानूनी टीमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौं, एकजना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला, सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ।।मेरो मौनतालाई कमजोरी नठान्न अपील गर्दछु,’ उनले लेखेकी छन् ।

 

अनुसन्धानमा असर पर्ने भएकाले आफू अहिलेसम्म मिडियामा नबोलेको भन्दै उनले प्रहरी प्रशासनले बोलाएका बेला उपस्थित भएर बयान दिइसकेको बताएकी छन् । ‘तर यहाँ एकतर्फी रूपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे, त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ,’ उनी भन्छिन्, ‘आत्महत्याजस्तो संवेदनशील विषयलाई ग्लोरिफाइ गर्नु उचित हुँदैन ।’

 

आफूले प्रहरीसमक्ष बयान दिएको बताएकी उनले बुटी बाँध्न लगाएको र कालो बोका काटेको भन्ने हल्लामा पनि सत्यता नरहेको उनको दाबी छ । बुटी र बोको पूजा गर्ने भनेर नाम जोडिएका तान्त्रिक गुरुको पनि प्रहरीले बयान लिइसकेको उनले जानकारी दिएकी छन् ।

 

सारुक सहयोगी र राम्रो कलाकार भएको भन्दै नम्रताले उनको न्यायका लागि अपिलसमेत गरेकी छन् । नम्रतासँगै चलचित्र ‘ह्यासट्याग माया’मा सँगै काम गरिरहेका अभिनेता सारुकले असार २१ गते आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका थिए ।

Share: