सिम्रिक एयरका अध्यक्ष थापालाई १० हजार जरिवाना

164
0
Share:

काठमान्डौ/नेपाल नागरिक उड्डयन प्राधिकरणले स्रिमिक एयर प्रालिका अध्यक्ष रामेश्वर थापालाई पटक–पटक प्राधिकरणको काममा बाधा पुर्‍याएको भन्दै १० हजार रुपैयाँ जरिवाना गराएको छ ।

 

प्राधिकरणको नियम र कानून पटक-पटक उल्लङ्घन गरेर उल्टै सुरक्षा निर्देशनहरूको विरुद्धमा श्रृंखलाबद्ध गलत प्रचार गरेर जनतामा भ्रम पैदा गरेको अभियोग थापामाथि छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को उपदफा २ बमोजिम उक्त जरिवाना भएको क्यानले जनाएको छ । यसबाट पनि उनले अवज्ञा गरे सिम्रिक एयरका सबै उडान बन्द गर्ने चेतावनी समेत क्यानले दिएको छ ।

 

थापालाई प्राधिकरणले स्पष्टीकरण सोधेको सो पत्रको जवाफ नदिई उनले आदेश तथा निर्देशनको अवज्ञा गरेपछि जरिवानाको निर्णय भएको हो । विमानस्थलमा प्राधिकरणलाई तिर्न बुझाउन बाँकी रहेको बक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीको उद्धार उडानबाहेक अन्य उडानमा प्रतिबन्ध लगाएकोमा थापा अध्यक्ष रहेको सिम्रिक एयरले अवज्ञा गरेको थियो ।

 

अर्धन्यायिक निकाय प्राधिकरणको निर्देशनविपरीत थापाले उल्टै ७ दिने चेतावनीसहित अख्तियारलाई समेत बोधार्थ दिएर काम कारबाहीमा प्रत्यक्ष रुपमा प्रभावित पार्न खोजेको आरोप छ ।

Share: