
काठमान्डौ/उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनको माडीस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा आवासगृह उद्घाटन गरेका छन् ।
शिक्षालयका शिक्षक र कर्मचारीका लागि निर्माण गरिएका सात वटा आवासगृह आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले उद्घाटन गरेका हुन् । सो अवसरमा मन्त्री श्रेष्ठले दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयले माडीको शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘यो शैक्षिक संस्था माडीको गहना हो, यसको विकासका लागि सबैले सहयोग गर्नुपर्छ ।’
उनले वर्तमान सरकारले शिक्षालाई प्राथमिकता दिएको भन्दै प्राविधिक शिक्षामार्फत देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
आवास गृहमा शिक्षालयका सेवाकालीन कर्मचारी र शिक्षक बस्नेछन् । करिब रु सात करोडको लगानीमा छुट्टाछुट्टै भवन निर्माण गरिएको शिक्षालय प्रमुख उपेन्द्र पोखरेलले जानकारी दिए। विसं २०७५ देखि सञ्चालनमा आएको शिक्षालयमा डिप्लोमा तहका सिभिल इन्जिनियर, फार्मेसी, पशु विज्ञान र बाली विज्ञानको अध्यापन हुने गरेको छ ।