Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बाघ मारेर सकियो पोखराको बाघजात्रा – Lekhanpeeth

बाघ मारेर सकियो पोखराको बाघजात्रा

Share:

काठमान्डौ/पोखरामा सोमबार शुरु भएको ऐतिहासिक बाघजात्रा बुधबार सकिएको छ। पोखराका नेवार समुदायले २३ वर्षपछि बाघजात्रा मनाएका हुन्। पोखराको बाघजात्रा आयोजक समितिले बाघजात्राको सुरुआत गरेको थियो। विभिन्न कारण २०५७ सालदेखि यता यो जात्रा रोकिएको थियो। त्यसपछि पोखरामा पुनः जात्रा देखाइएको बाघजात्रा आयोजक समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए।

 

उनका अनुसार पहिलो दिन भदौ १८ गते नेवा छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक पुगेको थियो। दोस्रो दिन १९ गते नेवा छे हुँदै गणेशटोल, सिमलचौर, सिर्जनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै जात्रा नेवाः छे पुगेर सकिएको हो। अन्तिम दिन २० गते मुख्य समापन समारोहका लागि नेवाः छेबाट भीमसेन मन्दिर तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै रंगशाला पुगेको उनले बताए।

 

जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्ड, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी ९बच्चाहरू० र प्रजाका रूपमा पोखराका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए। पोखराका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन्।

 

२३ वर्षपछि भएको बाघजात्रामा केही कमजोरी र चुनौती रहेको आयोजक समितिका सचिव सुनिल उलकले जानकारी दिए। ‘कार्यक्रम भव्यरूपमा सम्पन्न भयो तर केही कमजोरी र चुनौती अवश्य रहे’, उनले भने, ‘२३ वर्षअघि जति उपस्थिति थियो त्यति हुन सकेन। यसमा पोखरामा रहेका कतिपय सङ्घसंस्थाहरूमा पत्र नपुगेको भन्ने आयो। आगामी दिनमा यसलाई सुधार्नुपर्छ।’

 

जात्रामा मुस्ताङी समुदाय, मगर समुदायले साथ दिएको थियो। यसबाहेक भक्तपुरको घिन्ताघिसी (५० जनाको समूह)ले विभिन्न सांस्कृतिक नृत्यहरू प्रदर्शन गरेको थियो। धार्मिक किंवदन्तीअनुसार प्रहसनमा डमी बाघलाई मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरिएको जात्रा अन्त्य भएको सचिव उलकले बताए ।

Share: