३ करोड मागेको प्रमाण ल्याए ७२ घण्टाभित्र कारबाही गर्छौं : रास्वपा

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. ढाकाकुमार श्रेष्ठले लगाएइको आरोप पुष्टि गर्न चुनौती दिएको छ । श्रेष्ठले पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापाले आफूलाई मन्त्री बनाउन तीन करोड रुपैयाँ माग गरेको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

 

पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै बिनाआधार, बिनाप्रमाण पार्टीको छविमा आँच पुर्‍याउने मनसायले पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न पनि आग्रह गरेको छ । विज्ञप्तिमा थापाको नाम उल्लेख छैन ।

 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले साधारण सदस्यबाट हटाउँदा सांसद पद गुमेको थियो । केही दिनअघि स्पेस फोर के टेलिभिजनसँगको संवादमा बोल्दै थापाले श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोडमा डिल भएको खुलाएका थिए ।

 

रास्वपाले घुस मागेको प्रकरणमा पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा।श्रेष्ठ वा जोकोही आए त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेस भएको ७२ घण्टाभित्र कारबाही गरिने जनाएको छ ।

 

‘राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको नीति अनुशरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा।श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेस भएको ७२ घण्टाभित्र कारबाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै पार्टीप्रतिको जनविश्वास, आस्था र भरोसामा चोट पुर्‍याउने कुत्सित प्रयत्न कसैबाट नहोस् भनी सचेत समेत गराउन चाहन्छौँ ।’

 

 

Share: