Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हामी शिक्षा विधेयकमा भएका कमजोरी सच्याउँछौँ , विद्यालय बन्द नगरौँ : महामन्त्री थापा – Lekhanpeeth

हामी शिक्षा विधेयकमा भएका कमजोरी सच्याउँछौँ , विद्यालय बन्द नगरौँ : महामन्त्री थापा

246
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न आग्रह गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने बताएका छन्।

 

‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ,’ उनले भनेका छन्। शिक्षा विधेयक संसदमा दर्ता भइसकेकाले त्यसमाथि छलफल गर्ने र संशोधन गर्ने जिम्मा आफूहरूको भएको पनि उनले बताए। शिक्षकहरूले राखेका मागलाई सम्बोधन गर्ने विषयमा पनि आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ।

 

‘विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो,’ उनले लेखेका छन्, ‘हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ। आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौँ।’ उनले शिक्षकहरूलाई आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गर्न पनि आग्रह गरेका छन्।

 

‘सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासङ्घ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु,’ उनले भने। शिक्षक महासङ्घ लगायत संस्थाहरूले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले बुधबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए। बिहीबार पनि प्रदर्शन गरिरहेका छन्।

 

यसै विषयमा सरकारसँग पहिलो चरणको छलफल समेत भएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिक्षकको प्रतिनिधि टोलीले बिहीबार बिहान छलफल गरेको छ। तर छलफल निष्कर्षविहीन भएको हो।

Share: