Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बढ्यो डेङ्गीका बिरामी, अझै एक महिना जोखिम – Lekhanpeeth

बढ्यो डेङ्गीका बिरामी, अझै एक महिना जोखिम

284
0
Share:

काठमान्डौ/पछिल्लो समय काठमान्डौ महानगरपालिकामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् ।

 

विगत एक हप्तादेखि कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ । कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन् ।

 

डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक बायो लार्भीसाइड औषधि सबै वडाहरूमा छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय भने डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेको प्रमुख पौडेलको भनाइ छ । उनले भने, ‘असारको पहिलो सातादेखि नै बायो लार्भीसाइड पानी जमेको स्थानमा छर्केर नियन्त्रण गरिएको थियो, अहिले बिरामी देखिन थालेका छन् यसको जोखिम आगामी कात्तिक १५ गतेसम्म रहन सक्छ, त्यस बेलासम्म सबै सचेत रहन आवश्यक छ ।’

 

असोज पहिलो सातासम्म सबै वडामा सङ्क्रमित शून्यको अवस्थामा रहेका थिए । कामपाको तथ्याङ्कअनुसार अहिले कामपाको विभिन्न वडामा गरी ३५ जना सङ्क्रमित रहेका छन् । ‘समयमा नै पूर्वतयारी गरिएकाले विगत वर्षको तुलनामा यस वर्ष डेङ्गी सङ्क्रमितको सङ्ख्या भने कम रहेको छ’, प्रमुख पौडेलले भन्नुभयो । कामपाको सबै वडामा प्रत्येक हप्ताको बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जारी छ ।

 

प्रमुख पौडेलले लामखुट्टेबाट बच्नका लागि काम गर्दा पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झुल टाँगेर मात्र सुत्न नगरवासीलाई आग्रह गरेका छन् । उनका अनुसार उक्त सङ्क्रमण नियन्त्रणका लागि नगर प्रहरीमार्फत टोलटोलमा डेङ्गीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने, वडास्तरमा गठन भएको द्रूत प्रतिकार्य टोलीसमेत परिचालन गरिएको छ ।

 

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट हुने यो रोग लाग्दा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने जस्ता लक्षण देखापर्दछ । नेपालमा डेङ्गी सङ्क्रमण देखापर्न थालेको १९ वर्ष भयो । सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो ।

Share: