दसैँको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही

258
0
Share:

काठमान्डौ/माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिबाना तिराएर कारबाही गरेको छ भने यात्रुहरुको भाडा फिर्ता गराएको छ । दमौलीबाट काठमान्डौ छुट्ने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुहरुको भाडा फिर्ता गराइएको छ ।

 

दमौलीबाट काठमान्डौसम्मको भाडा रु छ सय ५० रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले रु एक हजारसम्म लिने गरेको गुनासो आएको छ । विष्टले भने, ‘दसैँको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैँ चेकजाँचका लागि पुगेको थिएँ, काठमान्डौ जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौँ ।’

 

चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरे । यस्तै, भोर्लेटारचोकमा बिहानै काठमान्डौ जाने यात्रुहरुबाट रु एक हजार लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ ।

Share: