Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बढ्दो घुम्ने संस्कृति – Lekhanpeeth

बढ्दो घुम्ने संस्कृति

Share:

काठमान्डौ/अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गरेका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाए । दसैँको भोलिपल्ट बागलुङबाट दुई साथीसहित मर्दी घुम्न निस्किएका उनि चार दिनको पदयात्रा सकेर आइतबार घर फर्किए । पेसाले शिक्षक खड्काले दसैँकै छेकोमा यसअघि मुगुको रारा ताललगायत पर्यटकीयस्थलको घुमघाम गरिसक्नुभएको छ । ‘दसैँको बिदामा पदयात्रामा निस्कनुको मज्जा नै बेग्लै हुन्छ, शरद ऋतु यसै पनि घुमौँघुमौँ लाग्ने याम हो’, उनले सुनाए, ‘नयाँ ठाउँको संस्कृति, रहनसहन र भूगोलबारे जान्न यात्राले सघाउँछ ।’

 

पदयात्रा आफैँमा रोमाञ्चक र आनन्ददायक हुने खड्काको अनुभव छ । ‘मर्दी यात्रा पनि स्मरणीय रह्यो, छोटो दूरीको पदयात्राका लागि मर्दी ट्रेक उपयुक्त गन्तव्य रहेछ’, उनले भने, ‘दसैँलगत्तै मर्दी ट्रेक घुम्न निस्केका पर्यटकको बाटैभरि लर्को नै थियो ।’

 

खड्कासहितको टोली कास्कीको काँडेबाट छिरेर दुई दिनको पदयात्रामा मर्दी हिमालको आधार शिविर पुगेको थियो । फर्किंदा लान्द्रुक, नयाँपुल हुँदै बागलुङ फर्केको खड्काले बताए । पोखरा महानगरपालिका–२९ भण्ढारढिककी आरजु खत्रीले पनि यसपालिको दसैँ बिदामा घुम्नका लागि मर्दी आधार शिविरलाई रोजे।

 

काठमान्डौबाट आएका दुई साथीसहित दसैँको पर्सीपल्ट उहाँले मर्दीका लागि यात्रा तय गरेका थिए । ‘काँडे, अष्ट्रेलियन क्याम्प, देउराली हुँदै पहिलो दिन हाइक्याम्प पुगेर बास बस्यौँ, दोस्रो दिन मर्दी आधार शिविर पुगेर देस्रो दिन घर फर्कियौँ’, खत्रीले भने, ‘हिमपातपछि खुलेको मौसममा यात्रा निकै रमाइलो भयो, हिमालको छेउमै पुग्दाको क्षण वर्णन गर्न नसकिने खालको थियो ।’

 

सूचना प्रविधि विषयमा अध्ययनरत उहाँ दसैँमा लामो बिदा हुने भएकाले घुम्न रुचाउछन् । खत्रीले गत वर्ष हिउँदमा कास्कीकै अर्को पर्यटकीय गन्तव्य खुमै डाँडाको पदयात्रा गरेका थिए । उनले मर्दी आधारशिविर पुग्दा पर्यटकको बाक्लो चहलपहल देखेको सुनाए । ‘धेरै आन्तरिक पर्यटक नै थिए, विशेष गरी युवा बढी देखिन्थे’, खत्रीले भने ।

 

काठमान्डौमा व्यवसाय गर्ने बागलुङका ओम खत्री पनि दसैँको भोलिपल्टै साथीहरूसँग ढोरपाटन घुम्न निस्किए । आफ्नै जिल्लामा पर्ने भए पनि ढोरपाटन यात्रा उनका लागि पहिलो थियो । “ढोरपाटन घुम्न पहिलेदेखिनै उत्सुक थिएँ, अहिले बल्ल मौका जुर्यो’, खत्रीले भने, ‘व्यवस्तताले नजिकका गन्तव्य पनि घुम्न पाइएको छैन, अब भने बेलाबेला घुमफिरमा निस्कनुपर्छ भन्ने लागेको छ ।’

 

खत्रीसहित छ जना मिलेर मोटरसाइकलमा ढोरपाटन पुगेका थिए । उनीहरू तीन दिन लगाएर ढोरपाटन उपत्यका, बुकी, जलजलालगायत ठाउँ घुमेका थिए । दसैँ बिदामा ढोरपाटन क्षेत्रमा आन्तरिक पर्यटकको चहपहल बढी देखिएको खत्रीले बताउनुभयो । ढोरपाटन देशकै एक मात्र सिकार आरक्ष हो । सिकारमा विदेशीको आकर्षण रहे पनि ढोरपाटन क्षेत्र घुम्न जानेमा बढी आन्तरिक पर्यटक नै हुन्छन् ।

 

कास्कीका दिवस गुरुङले दसैँको छेकोमा तीन जापानी पर्यटकसहित सात दिन पदयात्रा गरे । कास्कीको नयाँपुल, म्याग्दीको घोरेपानी हुँदै मुक्तिनाथसम्म पदयात्रा गरेको उनले बताए । २९ वर्षीय गुरुङले गत वर्ष दसैँताका एक्लै ‘कर्णाली यात्रा’ गरेका थिए। मुस्ताङबाट छिरेर मुगुको रारातालसम्म ५५ दिन उनले पदयात्रा गरेका थिए । मुस्ताङदेखि डोल्पा छिर्ने पाँच हजार मिटर उचाइको भञ्ज्याङमा पाँच दिनसम्म अलपत्र पर्नुपरेको क्षण उनको स्मृतिमा अहिले पनि ताजै छ ।

 

गुरुङले विसं २०७५ को दसैँमा पूर्वी नेपाल र मधेसका जिल्लामा ४२ दिनको साइकलयात्रा गरेका थिए । ‘साइकिलिङ र पदयात्रा गर्दा म प्रायः एक्लै हुन्छु, एकल यात्रा मेरो सोख र रोजाइ हो’, उनले भने, ‘म साथी लिएर घुम्न जाने होइन, घुमेर साथी बनाउनुपर्छ भन्ने मान्यता राख्छु ।’

 

जतिसुकै कठिन र लामो यात्रामा पनि उनि एक्लै निस्कन्छन् । कर्णाली यात्रामा जाँदा मुस्ताङ र डोल्पाबीचको याकखर्कमा पाँच दिनसम्म सम्पर्कविहीन भएर बस्नुपरेको गुरुङले सुनाए । ‘हिमपातले अगाडि जान नसकेपछि धर्मशालामा टेण्ट हालेर रात बिताएँ’, उनले भने, ‘प्रतिकूल मौसम, त्यहीमाथि उच्च हिमाली भेग, पाँच दिनसम्म घरपरिवारसँग पनि सम्पर्क हुन नसक्दा मन केही आत्तिएजस्तो पनि भएको थियो, तर मैले आफूलाई सम्हाले र मौसम सुधारपछि यात्रामा अगाडि बढेँ ।’

 

गुरुङले गत वर्षकै साउन र भदौमा ‘गुरिल्ला ट्रेल’मा ३५ दिन एक्लै हिँड्नुभएको थियो । उनि पदयात्री पथ प्रदर्शकसमेत हुन् । आम्दानीमा जोडिन पथ प्रदर्शकको अनुमति लिएर काम गरिरहेको गुरुङले सुनाए। ‘घुम्ने र घुमाउने नै मेरो पेसा बनेको छ, योबाहेक अरु केही सोचेको छैन, घुम्न धेरै बाँकी छ’, गुरुङले भने, ‘बढीजसो म दसैँ र तिहारका बेला घुम्न निस्किरहेको हुन्छु ।’ उनले पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढेको बताए।

 

गुरुङले पदयात्रा गर्न चाहनेलाई सबैभन्दा पहिला इच्छाशक्ति बटुल्न सुझाउनुभयो ‘थोरै पैसाले पनि घुम्न सकिन्छ, फजुल खर्च नगरौँ, घुमफिरका लागि समय छुट्टाऔँ’, गुरुङले भने, ‘आफूले जान चाहेको गन्तव्यका बारेमा पर्याप्त जानकारी लिऔँ, पूर्वअध्ययन गरौँ ।’

 

पदयात्रा गर्दा ट्रेकिङ झोला, न्यानो लुगा, आरामदायी जुत्ता, हलुका खानेकुरा, पानी, औषधिलगायत सामग्रीको जोहो गर्नुपर्ने गुरुङले बताए । ‘पदयात्रामा जाँदा शारीरिक र मानसिक स्फूर्ति पनि चाहिन्छ, यात्रामा आइपर्ने सबै परिस्थिति सामना गर्न तयार भएर हिँड्नुपर्छ’, उनले भने, ‘घुम्नलाई नेपालभित्रै असङ्ख्य सम्पदा, संस्कृति र प्राकृतिक गन्तव्यस्थल छन्, आफ्नै देश चिन्नलाई पनि घुमौँ ।’

 

दसैँलगत्तै अन्नपूर्ण चक्रीय पदमार्गमा आन्तरिक पर्यटकको घुइँचो लागेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताउनुभयो । आन्तरिक पर्यटकको आँकडा राख्ने नगरिएपनि बर्सेनि हजारौँ नेपालीले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने गन्तव्यस्थलको भ्रमण गर्ने गरेको उनले बताए।

 

पछिल्लो एक दशकयता नेपालीहरूमा घुम्ने संस्कृति ह्वात्तै बढेको प्रमुख डा कडरियाले उल्लेख गरे । ‘अन्नपूर्ण आधार शिविर, मर्दी, तिलिचो, थोरङ्ला भञ्ज्याङलगायत क्षेत्रमा पदयात्रा गर्नेको सङ्ख्या उल्लेख्य छ, विशेष गरी नेपाली युवामा घुम्ने क्रेज बढ्दो छ, सपरिवार पनि घुम्न निस्कने चलन बढिरहेको छ’, उनले भने, ‘कोभिड–१९ महामारीताका सुस्ताएको अन्नपूर्ण क्षेत्रको पर्यटनले विस्तारै पुरानै लय पछ्याउँदै छ ।’

Share: