
काठमान्डौ/आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाल विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मलेसिया भने ओमानसँग ३२ रनले पराजित भएको थियो। घरेलु टोली नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ ।
नेपाल आजको खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्ने समीकरण बनेको छ । आजको पहिलो खेलमा ओमानले सिंगापुरलाई २२ रनले हराएसँगै नेपालले मलेसियालाई हराएमा सेमिफाइनल समीकरण पुरा भएको हो । नेपाल विजयी हुँदा समूह ‘ए’ बाट ओमान पनि सेमिफाइनलमा पुग्ने छ ।
नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन। दीपेन्द्रसिंह ऐरीको स्थानमा विवेक यादवलाई निरन्तरता दिएको छ । नेपालको प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन् ।



