
काठमान्डौ/जिल्लामा पहिलो पटक बाबु नभएको स्वघोषणा गरेर नागरिकता दिइएको छ । आज जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिइएको हो । मायादेवी उपाध्यायको छोरा विशाल उपाध्यायले बुबा रमाकान्त रखाल हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उनलाई आमाको नामबाट नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिए ।
उनका अनुसार नेपालको नागरिकता ऐनको पहिलो संशोधन र नियमावलीको तेस्रो संशोधनअनुसार नागरिकता दिइएको हो । उपाध्याय परिमार्जित ऐनअनुसार नागरिकता लिने जिल्लामा पहिलो व्यक्ति भएको उनले बताए । उपाध्यायलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नागरिकता प्रदान गर्नुभएको हो ।
थापाले ऐनमा भएको संशोधनले नागरिकताको समस्या समाधान भएको बताए । स्वघोषणा गरेपछि नागरिकता प्राप्त गरेका बाबु पहिचान भए स्वघोषणा गर्नेहरुलाई कारबाही हुने उनले बताए । कानुनअनुसार कैद र जरिवानाको व्यवस्था भएको उनले जानकारी दिए । श्रीमान् १८ वर्षदेखि सम्पर्कमा नआएपछि स्वघोषणा गर्न बाध्य भएको आमा मायादेवीले बताए ।
उनले भने, ‘छोरो जन्मिएको एक वर्षपछि छोराको बुबा हराएका हुन् । अहिलेसम्म सम्पर्कमा आउनुभएन ।’ छोराले आफ्नो नामबाट नागरिकता पाएपछि आफू खुसी भएको र जिम्मेवारी थपिएको महसुस गरेको उनले बताए ।