
काठमान्डौ/संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । ढुंगानाको अन्नपूर्ण बेसक्याम्प पुगेर फर्कने क्रममा आज बिहान लेक लागेर मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
गत कात्तिक १२ गते असई ढुंगाना गुटेरेसको सुरक्षाको लागि उनीसँगै हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए । सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किएका थिए भने ढुंगाना हिँडेर फर्किएका थिए । प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार गएराति हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुंगानालाई श्वासप्रश्वासमा समस्या देखिएको र आज हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भएको हो ।
उनलाई पोखरा मणिपाल अस्पताल पुर्याइएको थियो । ढुंगाना इलाका प्रहरी कार्यालय घान्द्रुक कास्कीका प्रहरी प्रमुख हुन् । अन्नपूर्ण आधार शिविर उनकै क्षेत्रमा रहेका कारण उनी गुटरेससँग वेसक्याम्प पुगेका थिए ।