Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सडक मर्मतमा सहयोग पुर्याउँदै सेना – Lekhanpeeth

सडक मर्मतमा सहयोग पुर्याउँदै सेना

292
0
Share:

काठमान्डौ/नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले सुरुआत गरेको श्रमदान अभियानमा गोरखनाथ गणका २५ जवान दैनिकरूपमा खटिएका हुन् । दिक्तेलबाट सेकुवाखोलासम्म उक्त सडक कालोपत्र भइसकेको छ । तर बीचमा पर्ने पङ्खुखोलामा पुल निर्माणका लागि छाडिएको करिब दुई सय मिटर सडकमा समस्या हुन थालेपछि शुक्रबारदेखि श्रमदानमार्फत मर्मत गर्न थालिएको हो ।

 

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डअन्तर्गत पङ्खुखोला नजिकको सडकमा सडकमाथिबाट खसेको पहिराले हिलाम्मे हुने गरेकाले सेनाको सहयोगमा श्रमदानमार्फत मर्मत सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले जानकारी दिए । ‘पङ्खुखोलामा लामो समयदेखि पुल निर्माणको काम अलपत्र छ । करिब ३० प्रतिशत काम गरेर पुल अलपत्र पारेपछि ठेक्कासमेत तोडिएको छ’, उनले भने, ‘अब नयाँ बोलपत्र आह्वान भएर पुनः पुल निर्माण कहिले सुरु हुने भन्ने टुङ्गो छैन । तर पुल निर्माणका लागि छाडिएको सडकमा निरन्तर सवारीसाधन अवरुद्ध हुन थालेपछि मर्मत सुरु गरिएको हो ।’

 

ठेकेदारको लापरवाहीले पटक–पटक अवरुद्ध हुँदै आएको सडक मर्मतका लागि खटिएका सेनाको टोलीलाई वडाध्यक्ष कठेतले व्यक्तिगत खर्च गरेर खाजा उपलब्ध गराउनुभएको छ । तीन दिनसम्म चल्ने श्रमदान अभियानमा सवारीसाधन फस्ने करिब ७५ मिटर सडक सोलिङ गर्ने योजना रहेको जनाइएको छ । सडक मर्मतका लागि वडाध्यक्ष कठेतको अनुरोधमा निःस्वार्थभावका साथ सहभागी भएको गणपति प्रमुख सेनानी सुजन गुरुङले बताउनुभयो । “सभ्य समाज निर्माणका लागि सैनिक–नागरिकबीच सुमधुर सम्बन्ध कायम हुनुपर्छ । हामी त्यसमा सचेत भएर अगाडि बढेका छौँ’, उनले भने, ‘स्थानीय नागरिकलाई परेको समस्या तथा आम नागरिकको सरोकारको विषयमा सेनाको सहयोग रहन्छ । यही भावनाअनुरुप सडक मर्मत गर्न सहभागी भएका हौँ ।’

 

पुलका लागि छाडिएको पूरै सडकमा नाली निर्माणसमेत गरिने जनाइएको छ । सिरुवा कन्ट्रक्सनले विसं २०७३ असोज ७ गतेसम्ममा सम्पन्न गर्ने गरी विसं २०७२ असोज ६ गते पुल बनाउने ठेक्का सम्झौता गरेको थियो । तेस्रोपल्ट थप भएको म्याद २०७७ असोज ३० गते नै नाघिसकेको छ । त्यसयता पुलको म्याद थप भएको छैन । निर्माण कम्पनीले पुल अलपत्र पारेर छाडेपछि नगरपालिकाले ठेकेदारलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन गत चैत २४ गते जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । पक्राउ पर्ने डरले निर्माण कम्पनीले केही समय काम गरेजस्तो गरे पनि पुनः रोकिएपछि ठेक्का तोडिएको हो ।

 

पुनः ठेक्का लागेर पुल निर्माण नहोउन्जेलसम्म त्यसवरिपरिको बाटोमा यात्रा गर्न सहज बनाउने उद्देश्यले सेनासँग समन्वय गरेर श्रमदान सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । बिग्रिएको सडक मर्मतका लागि आवश्यक ढुङ्गा तथा गिट्टी ओसारपसार गर्न नगरपालिकाले ट्रयाक्टर उपलब्ध गराएको छ ।

Share: