‘दुःखी आत्मा’ बनाउँदै दीपेन्द्र लामा, दयाहाङ अनुबन्धित

278
0
Share:

काठमान्डौ/रंग पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको लेखक तथा निर्देशनमा निर्माण हुने सिनेमा ‘दुःखी आत्मा’को निर्माण घोषणा गरिएको छ । ‘नाङ्गो गाउँ’ निर्माण कम्पनी क्लक वर्क क्रियसन्स र हिमाल कडरिया निर्माता रहेको सिनेमाको मूख्य भूमिकामा अभिनेता दयाहाङ राई अनुबन्धित् भइसकेका छन् ।

 

स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको ‘दुःखी आत्मा’ निर्देशक लामा र निर्माता कडरियाबीच ‘नाङ्गो गाउँ’ पछि दोश्रो पटक सहकार्य हुन लागेको हो । ‘नाङ्गो गाउँ’ को सफलतासँगै निर्माता कडरियाले निर्देशक लामाकै लेखन तथा निर्देशनमा एउटा बेनामे र अर्को ‘नाङ्गो गाउँ २’ गरी दुई सिनेमा निर्माण गर्ने घोषणा गरेका थिए ।

 

अहिले आएर सिनेमा नाम ‘दुःखी आत्मा’ तय गरिएको हो । यस वर्षको अन्त्यतिरबाट छायांकन सुरु गरिने सिनेमाका अभिनेत्री लगायत अन्य कलाकर तथा प्राबिधिक चयन कार्य बाँकी छ । काठमाडौंमै खिचिने सिनेमा सोसियल कमेडी जनरामा निर्माण हुने जानकारी निर्देशक लामाले दिएका छन् । निर्देशनको हिसाबले ‘दुःखी आत्मा’ निर्देशक लामाको छैठौं सिनेमा हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् ।

 

अभिनेता दयाहाङ र निर्देशक दीपेन्द्रको ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ पछि चौथोपटक ‘दुखी आत्मा’ मा सहकार्य हुदैछ । अधिकांश प्राबिधिक टोली ‘नाङ्गो गाउँ’ कै रहने यो सिनेमाको बितरण पनि आरआर फिल्मस्ले गर्दैछ । सिनेमाको प्रदर्शन मिति छायांकन सुरुसँगै सार्वजनीक गरिने जानकारी निर्माता कडरियाले दिएका छन् ।

Share: