सरकारले भोलिदेखि ६ दिनसम्म अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने

173
0
Share:

काठमान्डौ/सरकारले भोलिदेखि ६ दिनसम्म अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भोलि पुस २ गते अर्थात् डिसेम्बर १८ देखि ६ दिनसम्म विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइने जनाएको छ ।

 

आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सचिव केवलप्रसाद भण्डारीले आप्रवासीहरूको योगदानको कदर गर्ने र उनीहरूको अधिकारको रक्षा गर्न विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको जानकारी दिए ।

 

कार्यक्रमको पहिलो दिन भोलि विभिन्न सरोकारवाला क्षेत्रका प्रतिनिधिसहितको प्रभातफेरी हुनेछ । बाँकी दिन सचेतना कार्यक्रम, सुरक्षित रोजगारी अभ्यास प्रवर्द्धन, काम गर्ने घण्टाको वकालत र आप्रवासी कामदारहरूको लागि सीप विकासलाई प्रोत्साहित गर्न केन्द्रित भएर कार्यक्रम हुनेछन् ।

 

सचिव भण्डारीले वैदेशिक रोजगारीका लागि स्व-चेतना र कानुनी पक्षहरूलाई जोड दिएर व्यक्तिहरूलाई सशक्त बनाउने र वैदेशिक रोजगारीमा विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्ने आशा राखेको बताए । गरिबी, द्वन्द्व र जलवायु परिवर्तन लगायतका कारण आप्रवासनको समस्या बढेको भन्दै आप्रवासी कामदारहरूलाई उनीहरूको सीप अभिवृद्धि गरी अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको समेत सचिव भण्डारीले बताए ।

Share: