सितोरियो कराते दिक्षान्त सुरु

145
0
Share:

काठमान्डौ/बागमती प्रदेशस्तरीय सितोरियो कराते दिक्षान्त समारोह भरतपुरमा सुरु भएको छ । नेपाल सितोरियो कराते सङ्घको आयोजना र नेपाल सितोरियो कराते सङ्घ बागमती प्रदेशको व्यवस्थापनमा भरतपुरको कभर्ड हलमा आजदेखि कार्यक्रम सुरु भएको हो । समारोह तीन दिनसम्म चल्नेछ ।

 

बागमती प्रदेशका पर्यटन उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले समारोहको उद्घाटन गरे । खेललाई पेशाको रुपमा अपनाउँँदै जीवनयापन गर्न नसक्दा खेलाडी विदेशिने अवस्था आएको भन्दै मन्त्री महर्जनले चिन्ता व्यक्त गरे। भविष्य निर्माणका लागि विदेशिरहेका खेलाडीलाई देशमै रोक्ने अवस्था सृजना गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

 

युवा र खेलाडी देशको भविष्य भएको भन्दै मन्त्री महर्जनले उनीहरुको जीवनसँग खेलवाड गर्न नहुने तर्क गरे । करातेले खेलाडी अनुशासन सिकाउने भन्दै यस खेलको प्रवर्द्धनमा थप जोड दिनुपर्ने उनले बताए । मन्त्री महर्जनले कराते सङ्घ चितवनको भवन स्तरोन्नतिका लागि प्रदेशको आगामी बजेटमा पहल गर्ने प्रतिबद्धता जनाए । उनले आगामी आवको बजेटमा यसका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री महर्जनले सङ्घको भवनको स्थलगत अवलोकन गरेका छन् ।

 

दिक्षान्त समारोहमा बागमती प्रदेशका १२ जिल्लाबाट करिब दुई सय ५० खेलाडी सहभागी छन् । उनीहरुलाई खेलको नियम, आत्मरक्षासम्बन्धी प्रशिक्षण दिइनेछ । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक तुलसीकुमार महर्जनले प्रशिक्षण दिने सितोरियो कराते सङ्घ बागमती प्रदेश अध्यक्ष गगन लामाले जानकारी दिए । अन्तिम दिन सहभागीको परीक्षा लिएर उनीहरुलाई दिक्षित गरिनेछ । सोही अनुसार उनीहरुलाई फस्ट डन, सेकेण्ड डन र थर्ड डनबाट दिक्षित गरिनेछ ।

Share: