
काठमान्डौ/वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी विरुद्ध जिल्ला अदालत ललितपुरमा घरेलु हिंसा गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । उनकी पत्नी जानकी पाण्डेले आफूमाथि घरेलु हिंसा गरेको भन्दै भण्डारीविरुद्ध बुधबार मुद्दा दायर गरेकी हुन् ।
अधिवक्ता समेत रहेकी पाण्डेले आफूमाथि श्रीमानले शारीरिक, मानसिक, आर्थिक र यौनजन्य शोषण गरेको आरोप लगाएकी छन् । निवेदन अधिवक्ता डा. भण्डारीले विवाह लगत्तैदेखि आफूमाथि विभिन्न लाञ्छना लगाई दुर्व्यवहार गरेको उल्लेख छ । आफूलाई ज्यान लिने भन्दै धम्क्याउने, आफ्ना बाबुआमालाई सताउने लगायतका काम गरेको भन्दै उनले संरक्षणात्मक आदेश मागेकी छन् ।
बुधबार नै जिल्ला अदालतमा पाण्डेले भण्डारीमाथि नाता कायम गरिपाँउ भनी अर्को निवेदन समेत दर्ता गरेकी छन् । २०७४ सालमा आफूसँग विवाह गरेका श्रीमान् सुरेन्द्र भण्डारीले विवाह दर्ता गर्न इन्कार गरेको आरोप छ । भण्डारीले २०८० सालको मिति राखेर मात्रै विवाह दर्ता गरिदिन्छु भनेको भन्दै उनले विवाह भएकै मितिमा विवाह दर्ता हुनुपर्ने मागसहित अर्को मुद्दा दर्ता गरेकी हुन् ।
आफूलाई पत्नीको रुपमा स्विकारेर परम्परागत विवाह गरेपछि करिब ६ वर्षदेखि आफूहरू पतिपत्नीको रुपमा बसेपछि डा. भण्डारीले विवाह दर्ता नगरिदिएको भन्दै उनले बिहे दर्ताको आदेश जारी हुनुपर्ने माग गरेकी छन् । बिहेपछि ललितपुरको सैंबुस्थित सुरेन्द्रको घरमै उनी बस्दै आएकी थिइन् ।