
काठमान्डौ/प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूपदार्थ गाँजासहित एक जना युवकलाई विराटनगरमा पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१८ स्थित खेतमा लुकाएर राखेको अवस्थामा ४५ किलो गाँजासहित सोही ठाउँका १९ वर्षीय नन्दु यादव पक्राउ परेका हुन् ।
प्लाष्टिकमा पोका पारेर खेतमा परालले छोपेर राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । भारत लैजाने उद्देश्यले गाँजा उक्त स्थानमा राखिएको पाइएको उनले बताए ।
गाँजासहित यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ । गाँजा ओसारपसारमा अरु पनि संलग्न भएको अनुमान गरिएको छ । प्रहरीले पक्राउ परेका युवकसँग बयान लिएर त्यसअनुसार खोजी अघि बढाउने तयारी गरेको छ ।