
काठमान्डौ/ढुङ्गा र माटोले बनेको गाह्रो माथि जस्तापाताले छाएको एकपाखे सानो झुपडीमा पानी घट्टको आवाज निरन्तर सुनिन्छ । सोही घट्टको घुमाइसँगै पिसेको मकैको ज्यालाबाट नरबहादुर स्याङ्तान र जोगमायाको जीवन निर्वाह हुँदै आएको छ ।
काभ्रेपलाञ्चोकको विकट डाँपारिस्थित खानीखोला गाउँपालिका–७ मिल्चे हात्तीछेडाबाट सुखको जीवन जिउने अभिलाषाका साथ उहाँहरु सहर नजिकैको बजार भूमेडाँडाको रोशी नदी छेउमा आएर बस्न थालेको करिब १७ वर्ष भयो । यता आएर पनि अन्य कुनै पेसा व्यवसाय केही नपाएपछि उक्त जोडीले अहिलेसम्म त्यही घट्टमा पिस्ने मकैको ज्यालाबाट जीवन धान्दै आएका हुन् ।
“पनौती नगरपालिका–१२ स्थित रोशी खोला र बिहाबर खोलाको सङ्मगस्थल भालेश्वर दोभानमा अहिलेसम्म सञ्चालनमा रहेको पानीघट्ट सञ्चालन गर्र्दै आएको १७ वर्ष भयो । छोराछोरी गाउँ बस्न छाडेपछि हामी बूढाबूढी मात्रै के गरेर बस्नु भनेर गाउँ छोडेर सहर नजिकै बस्न आउने क्रममा यहाँ आइपुग्यौँ,” जोगमायाले भन्नुभयो, “जानेको काम र मिल्ने पेसा केही नभएपछि पानीघट्ट हेरचाहा गर्ने काम पायौँ, अहिलेसम्म यसैबाट जीवन धानिँदै आएको छ ।”
“उता छोडेर आएको डाँडापारिको गाउँको बारीमा रूखबिरुवा उम्रेर जङ्गल भइक्यो कति जमिन बाँझै छ,” नरबहादुरले भने, “यता बास बस्ने एउटा सानो घर छ । त्यसैमा रात बिताउँछौँ । दिनभर यतै घट्टमा समय बित्छ ।”
भूमेडाँडाका गोविन्द विकले चलाउँदै आएको घट्टामा उहाँहरुले काम गर्न थालेपछि अहिलेसम्म निरन्तरता दिँदै आउनुभएको हो । केही काम नभएपछि यहाँ आएर यो काम पाइयो । दिनभर पिसेको मकैको जति ज्याला पाइन्छ, त्यसको तीन भाग गरी दुई भाग आफूले लिने र एक भाग घट्टधनीलाई दिने गर्दै आएको जानकारी दिँदै उहाँले यसबाटै छाक टार्नाका साथै घरखर्च पनि चलाउँदै आएको बताए ।
दिनभर पिन्न पाइए करिब चार मुरी मकै पिस्न सकिने र एक पाथी मकैको एक माना ज्याला लिने गरेको उल्लेख गर्दै नरबहादुरले घट्ट बेला खबत भत्किने, छानो चुहिने, कुलो चुहिएर मर्मत गर्नुपर्ने, घट्ट खिइँदै जाँदा पुनः काटेर दाँत बनाउनुपर्नेजस्ता कामले सताउने गरेको र बुढ््यौलीका कारण गरुङ्गो घट्टा (ढुङ्गा) पल्टाउनै मुस्किल हुँदा पनि यही एउटा कमाई खाने पेसा कष्ट सहेर पनि खुसी मानेरै बस्दै आएको उल्लेख गरे ।
दुःख गरी कमाएको पैसाबाट रोशी बजार नजिकै किनेको जग्गा पनि दलालले फसाइदिएको, कुनै सेवा र सुविधा नभएको आफ्नो गाउँमा भएको जमिन बाँझै भएको र छोराबुहारी आ–आफ्नै पेसा व्यवसायमा व्यस्त भकाले बूढाबूढी मात्रै बस्दै आउनुपरेको उहाँको गुनासो थियो ।
पनौती नगरपालिका–८ का यादव केसीले नजिकै विद्युत्बाट सञ्चालन गरेको पिसानी मिल भए पनि पानी घट्टाको पीठो खाने आदत भएकालाई पानी घट्ट आवश्यक बनेको छ । “खान घट्टाकै पीठो स्वादिलो लाग्छ, त्यसैले यही आएर पिन्ने गर्छन्,” नरबहादुरले भन्नुभयो, “फुर्सदमा आफैँ बसेर पिसेर लैजान्छन् नभए छोडेर जाने गर्छन् लाग्ने ज्याला लिएर तयार पारेर राखिन्छ ।” गाईवस्तुका लागि मिलको पिठो प्रयोग गरे पनि पानी घट्टामा पिसेको पीठो धेरै तातो नहुने र आफूलाई जस्तो चाहियो त्यस्तै पिसेर लैजान पाइने भएकाले पनि अधिकांश स्थानीय बासिन्दाले घट्टकै पीठो प्रयोग गर्ने गरेको उहाँले बताए ।
पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी खत्रीले परम्परागत पानीघट्ट स्थानीय बासिन्दाको रोजाइमा परेकाले यसको संरक्षण र सुधारका लागि आवश्यक सहयोग गर्दै आएको बताए । यसअघि काभ्रे उपत्यका एकीकृत खानेपानीका कारण विस्थापित भएका घट्ट अहिले भूमेडाँडा रोशी आसपासमा चारवटा सञ्चालनमा रहेको उहाँले बताए ।