
काठमान्डौ/पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा यही माघ २६ र २७ गते पोखरामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका बुद्धिचाल सङ्घको व्यवस्थापनमा आगामी विद्यालयस्तरीय छात्रछात्रा बुद्धिचाल प्रतियोगिता हुन लागेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका दुई सय ५० जना छात्रछात्राको सहभागिता रहने उनले बताए । सात चरणमा खेलाइने प्रतियोगितामा एउटा विद्यालयबाट बढीमा दुई समूह सहभागी हुन पाउने नियम राखिएको छ । एउटा समूहमा दुई छात्र वा दुई छात्रा सहभागी हुन पाउने सदस्य सचिव खड्काले बताउनुुभयो । प्रतियोगितामा छात्रछात्रातर्फ प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु सात हजार, पाँच हजार र तीन हजारसहित पदक र प्रमाणपत्र पाउनेछन् ।
चौथो र पाँचौँ हुनेले क्रमशः रु दुई हजार र एक हजारसहित मेडल र प्रमाणपत्र पाउने महानगर बुद्धिचाल सङ्घका अध्यक्ष चन्द्रबहादुर गुरूङले जानकारी दिए। छैटौँदेखि दशौँ स्थानसम्म प्राप्त गर्ने पाँच जना सहभागीले मेडल र प्रमाणपत्र पाउने उनले बताए ।