Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
समलिङ्गी विवाहलाई कानुनी मान्यता – Lekhanpeeth

समलिङ्गी विवाहलाई कानुनी मान्यता

Share:

काठमान्डौ/ बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुन । करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र गुरुङ कानुनीरूपमै विवाहबन्धनमा बाँधिनुभएका छन् ।

 

अञ्जु र सुप्रिताले विवाह दर्ताका लागि २०८० माघ ४ गते वडा कार्यालयमा निवेदन दिएपछि पञ्जीकरण विभागको प्राविधिक शाखासँग समन्वय गरेर आइतबार उनिहरुको विवाह दर्ता प्रमाणपत्र जारी गरिएको बढैयाताल –२ का स्थानीय पञ्जीकाधिकारी एवं वडासचिव दीपक नेपालीले जानकारी दिए ।

 

प्रमाणपत्रमा हाललाई अस्थायी विवाह दर्ता गरिएको उल्लेख गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पञ्जीकरण विभागमा समलिङ्गी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा राय तथा निर्देशन उपलब्ध गराइदिन पत्र पठाएर आवश्यक समन्वयमा कानुन नबन्दासम्म अस्थायी विवाह दर्ता प्रमाणपत्र दिइएको बताए ।

 

अञ्जु हाल बाँकेको कोहलपुर–५ मा बस्दै आउनुभएको छ भने सुप्रिता बेलायतमा बस्नछिन् । ‘कक्षा १२ मा पढ्दै गर्दा फेसबुकमार्फत चिनजान भयो, सम्बन्ध बढाउँदै जादाँ हामी विवाह नै गर्ने मनस्थितिमा पुग्यौँ’, सोमबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अञ्जुले भनिन , ‘प्रेम सम्बन्धमा परेपछि हामीले धार्मिक संस्कारअनुसार विवाह ग¥यौँ र दुवैजना सँगै बस्न थाल्यौँ ।’

 

उनका अनुसार स्याङ्जाको वालिङस्थित छाङछाङदी मन्दिरमा पाँच वर्षअघि उनीहरूले विवाह गरेका थिए । पहिले परिवार र आफन्तबाट अपहेलित हुनुपरे पनि अहिले साथ मिलेको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वकालत गर्दै आएका सामाजिक संस्था पश्चिम तारा नेपाल नेपालगञ्ज र मायाको पहिचान नेपाल काठमाडौँले अञ्जु र सुप्रिताको विवाह दर्ताले आफ्नो अभियानलाई बल पुगेको बताएका छन् ।

 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको क्षेत्रमा कार्यरत संस्था पश्चिम तारा नेपालकी अध्यक्ष परिना चौधरीले अञ्जु र सुप्रिताको विवाह दर्ताले आफूहरू खुसी भएको बताए । विवाह दर्ताको खुसीयालीमा सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्त, नेपालमै पहिलोपटक समलिङ्गी विवाह दर्ता गर्ने लमजुङका सुरेन्द्र पाण्डेलगाायत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले वरबधुलाई बधाई तथा शुभकामना दिएका थिए ।

Share: