
काठमान्डौ/ इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुग्नुभएका उनले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग हुनुहुन्छ । ‘घरैमाथि स्कुल जाने सडक, घरमुनि फिस्लिङ–शक्तिखोर सडक छ’, उनि भन्छन , ‘यतिको सुविधा होला भन्ने कल्पनासमेत गरेका थिएनौँ, अहिले त गाडी दुनुन्न हिँड्छन् आनन्द छ ।’सडक सञ्जालले यात्रुसहित यहाँका स्थानीयलाई धेरै सहज भएको उ बताउछन् ।
‘पहिले निकै कष्टका दिन बितायौँ, ‘दुःखका दिन सम्झँदै उनले भने ‘, भारी बोकेर नारायणगढ पुर्याउनुपर्ने बाध्यता थियो । अहिले घरबाटै गाडीले जति पनि सामान लैजान्छ । उहाँ बास बस्दै दुई दिनमा नारायणगढ पुगेको बताउछन् । ‘अहिले बिहान गए बेलुका घरमै आइपुगिन्छ, सडक निर्माणले निकै सुविधा भएको छ’, उनले भने । मोटरसाइकल र साना गाडीमा गाउँ घुम्न आउने बढेको जनाउँदै आफूहरूलाई समेत रमाइलो लाग्ने गरेको सुनाए ।
नौलो मान्छे देख्दा भाग्ने चेपाङलाई अहिले बजारसँग जोड्नका लागि यही सडकले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । ‘अब सरकारले यो बाटोमा पर्ने खोल्साखाल्सीमा पुल हाल्दिने, पिच गर्न बाँकी रहेको ठाउँमा राम्रो बनाउने गर्दिनुपर्छ’, उनले भने , ‘बाटो अलि साँघुरो छ । ठूलो गाडी पनि गुडाउन मिल्ने गरी बढाउनुपर्छ ।’ यो सडकखण्डमा फिस्लिङदेखि उकालो लागेपछि करिब नौ किलोमिटर अझै कच्ची बाटो हिँड्नुपर्छ । माझगाउँबाट कालोपत्रे सुरू भएको बाटो तोलाङ कटेपछि बाँसपुरसम्मको करिब एक/डेढ किलोमिटर सबैभन्दा जोखिमयुक्त छ, जहाँ मोटरसाइकल चलाउन पनि मुस्किल पर्छ’, प्रजाले भने ।
सडकले गाउँघरमा समृद्धि ल्याएको मायाटारका युवा टीकाबहादुर गुरुङ बताउछन् । सडक विस्तारपछि उनले घरबास (हामेस्टे) सञ्चालनमा ल्याउनुभएको छ । उहाँलाई अहिले पाहुनाको स्वागत र सत्कारमा भ्याइनभ्याइ छ । गुरुङका अनुसार फिस्लिङ–शक्तिखोर सडकमा यात्रा गर्नेको सङ्ख्या बढ्दै गएको छ । मुग्लिन नारायणगढ सडकमा पुल निर्माणका लागि दिउँसोमा बन्द भएका कारण अझै बढी यो सडक प्रयोग गर्नेको सङ्ख्या बढेको गुरुङ बताउछन् । यो सडकको विषयमा अझै कतिलाई थाहै नभएको भन्दै उनले अझै प्रचारप्रसारको आवश्यकता रहेको बताए । ‘धेरैलाई यो बाटो पनि यात्रा गर्न सकिन्छ भनेर थाहै छैन’, उ भन्छन , ‘सबैले थाहा पाउने हो भने सम्भव हुने जतिले यो बाटोलाई प्रयोग गर्न सक्छन् ।’ उनले गाउँमा आउने पाहुनाले स्थानीय उत्पादन किनेर लैजाने गरेको बताए । ‘गाउँमा उत्पादन भएको हरेक कुरा अहिले बिक्री हुन्छ’, उनले भने , ‘यहाँका स्थानीयले पनि पैसा कमाउने भएपछि जाँगर चलाउन थालेका छन् ।’
हपनीका किसान शेरबहादुर प्रजा आफ्नो पाखाभित्ताका हरेक उत्पादनलाई अचेल यही सडकको सहायताले बजार पुर्याउनुहुन्छ । ‘हाम्रा लागि शक्तिखोर फिस्लिङ सडक वरदान बनेर उदायो’, उनले ‘यो सडक नहुँदा हामी बारीमा फल्ने तरकारी बस्तुलाई खोले दिन्थ्यौँ । अहिले बारीमै बिक्छ ।’
उनका अनुसार हिउँद होस् या बर्खा, अचेल तरकारी लिन जाने गाडी टोलटोलमै पुग्छन । पैसा हातहातै दिन्छन् । ‘सडकले सजिलो बनायो’, उनले थपे , ‘हामीले पनि बाँझो बारीमा तरकारी फलाउन थाल्यौँ, यसले विस्तारै सबैको आर्थिक अवस्थामाथि लाँदैछ ।’ गाउँ–गाउँसम्म विस्तार हुँदै गएको सडक सञ्जालले सर्वसाधारणको जीवनशैलीमा लगातार सकारात्मक परिवर्तन ल्याइरहेको छ । “केही वर्षअघिसम्म पनि हातमा रुपैयाँ–पैसा पार्न टाढाको बजार धाएर अन्नपात नै बेच्नुपर्ने बाध्यताका गाउँलेको अहिले बारीमै तरकारी बिक्छ, जसले किसानको क्रयशक्ति पनि बढाएको छ’, उनले भने ।
इच्छाकामना –३ माझगाउँका किसान होमबहादुर गुरुङले सडक निर्माणपछि यहाँ उत्पादन हुने सुन्तलालगायतका फलफूल र तरकारी बजार लेजान समस्या नभएको बताए । ‘सडकले विकासको लहर आउने रहेछ’, उनले भने , ‘पहिला हाम्रो क्षेत्रमा उत्पादन भएको सुन्तला बिक्री गर्न बोकेर राजमार्ग झार्नुपर्ने बाध्यता थियो’, अहिले बोटबाटै बिक्री हुन्छ । सडकको सहजता थपिएपछि स्थानीय किसानमा व्यावसायिक रुपमा खेती गर्ने धारणाको विकास भएको स्थानीय कृषक मनमाया गुरुङ बताउनुहुन्छ । धेरै परिमाणमा उत्पादन गर्नसके बिक्रीको लागि कुनै पनि समस्या नरहेको कृषक उनको भनाइ छ । खास गरेर मानिसमा व्यावसायिक धारणा विकास नहुँदा देश कृषिमा पछि परेको उनको भनाइ छ ।
सडक निर्माणपछि यस सडक आसपासका गाउँका अधिकांश किसान व्यावसायिक तरकारी खेती र पशुपालन व्यवसायमा लागेका छन । सडक सञ्जालको पहुँच बढेकै कारण यतिखेर यहाँका किसान व्यावसायिक बन्न सफल भएका छन् । यसले उनीहरूको आर्थिक हैसियत बलियो पार्दै लगेको गाउँपालिकाले जनाएको छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले यस क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल, खसी बोका सिधै बजार झर्ने गरेको बताए । ]’गाउँलेले भारी बोक्नुपर्ने बाध्यता हटेको छ’, उनले भने , ‘शाखा सडक टोलटोलमा पुगेका छन् ।’ उनले शक्तिखोर फिस्लिङ सडकका कारण मायाटार, बाँसपुर, इच्छाकामना मन्दिर, माझगाउँलगायत आसपासका गाउँको मुहारनै परिवर्तन भएको बताए ।
उनले सडक निर्माणकै कारण चितवनको पुरानो सदरमुकाम तथा एतिहासिक ठाउँ उपरदाङगढीमा समेत पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए । ‘पहिले यहाँ फाट्टफुट्ट मात्र पर्यटक पुग्ने गथ्र्ये’, उनले भने , ‘अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटक यहाँ पुग्ने गरेका छन् ।’ उनले सहज सडक सञ्जालकै कारण यहाँ नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर हेर्नका लागि विदेशी पर्यटकसमेत आउने गरेको बताए ।
‘यहाँका किसानले उत्पादन गरेको सबै कृषिउपज बजार ल्याउन सजिलो भएको छ’, उनले भने , ‘जसका कारण स्थानियको जीवनयापनमा सहजता आयो । इच्छाकामना गाउँपालिकाको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । यहाँ रहेका इच्छाकामना र पाथीभरा मन्दिरमा दर्शन गर्न आउने पनि बढेका छन । सडककै कारण इच्छाकामना मन्दिरमा त भारतीय पर्यटकसमेत आउन थालेका छन् । काठमाडौँ जाने वैकल्पिक सडकको रुपमा रहेको यस सडकले अझ बढी चेपाङको आयस्तरमा सुधार भएको उनि बताउछन ।
यो सडकले चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकालाई जोड्छ । फिस्लिङबाट तोलाङ–बाँसपुर–मायाटार– तेर्से–उपरदाङगढी शक्तिखोर पुग्ने सडकले चेपाङ बाहुल बस्तीहरूलाई राजमार्ग र बजारसंग जोडेको छ । इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले गाउँमा उत्पादन भएको चिउरी, फापर, कोदो, मकैलगायतका उत्पादन सहजै बजार जान थालेको बताए । उनले सडक निर्माणपछि दुखबिरामी हुँदा पनि सहजै भरतपुर पुग्न सकिएको बताए । दिनभर हिँड्नुपर्ने सडक दुई घण्टाको यात्रामा छोटिएको बताए ।
निवर्तमान सांसद कृष्णभक्त पोखरेलले यो सडक निर्माणले एउटा आयोजना निर्माण मात्र नभएका जनाउँदै चेपाङ बस्तीमा पहिलोपटक कालोपत्रे पुगेको बताए । उनले यो सडकको दूरगामी महत्व बुझेर सडक निर्माण गरिएको बताए । नेपालको सीमान्तकृत जातिको सूचीमा छैटौँ नम्बरमा चेपाङ जाति पर्छन । यस क्षेत्रमा पनि अधिकांश चेपाङको बसोबास छ । त्यही बस्तीलाई आधार बनाएर यो सडक निर्माण गरिएको उनले बताए । आधारभूत शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई यो सडक वरदान सावित भएको उनको भनाइ छ ।