सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा सीमा स्तम्भ रङ्गरोगन

Share:

काठमान्डौ/ सशस्त्र प्रहरी बलले कञ्चनपुरमा नेपाल–भारत सीमा स्तम्भ रङ्गरोगन गरेको छ । सरकारले पहिलोपटक सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको जिम्मेवारी दिएपछि सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये बिजोडी स्तम्भ सशस्त्र प्रहरीले रङ्गरोगन गरेको हो । यहाँस्थित सशस्त्र प्रहरी बल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरी बलको जिम्मा दिइएका ६६ सीमा स्तम्भ हालै रङ्गरोगन गरिसकिएको बताए ।

 

‘डोकेबजारमा रहेको सीमा स्तम्भ सात सय ५३ देखि भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा रहेको आठ सय १६ सीमा स्तम्भसम्म रहेका बिजोडी सङ्ख्याका स्तम्भ हामीले रङ्गरोगन गरिसकेका छौँ ।’ उनले भने , ‘जोर सङ्ख्याका स्तम्भहरु भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई रङ्गरोगनको जिम्मेवारी दिएअनुरुप गरिसकेको छ ।’

 

उनले नापी विभाग, स्थानीय प्रशासन र एसएसबीको समेत रहोवरमा सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको काम भएको जानकारी दिए । कञ्चनपुरमा १२९.५ किलोमिटर भारतसित सीमा पर्छ । यहाँ सशस्त्र प्रहरी बलको एउटा गणसहित २५ वटा युनिट सीमा सुरक्षा, अवैध कारोवार नियन्त्रणम र सीमा क्षेत्रको आपराधिक गतिविधि नियन्त्रणलगायत कार्यक्रम सक्रिय रहेको छ ।

 

कोरोना कहरका बेला सरकारले सीमा क्षेत्रमा सतर्कता बढाउनाका साथै सशस्त्र प्रहरी बलको युनिटहरु बढाएको थियो ।

Share: