Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एकमहिने ‘प्रतिस्थापन कला प्रदर्शनी’ – Lekhanpeeth

एकमहिने ‘प्रतिस्थापन कला प्रदर्शनी’

254
0
Share:

काठमान्डौ/ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला (बहुआयामिक कला) विभागको आयोजना र ग्यालरी एमक्युबको सहकार्यमा ‘प्र–कृति ः प्रतिस्थापन कला प्रदर्शनी २०८०’ काठमाडौँमा सुरु भएको छ ।

 

प्रकृति र मान्छेबीच द्वन्द्व चलिरहेको अवस्थामा प्रकृतिको महत्व दर्शाउने उद्देश्यले बिहीबारदेखि महिनाव्यापी प्रदर्शनी सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । मानिसले प्रकृतिको विनाश गरिरहेको र त्यसैगरी प्रकृतिले पनि विभिन्न प्राकृतिक विपत्तिहरूका माध्यमबाट मानिसलाई सजाय दिइरहेको सन्दर्भमा यस प्रदर्शनीले त्यसको जीवन्त चित्र प्रस्तुत गरेको छ ।

 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिस्थापन कला भनेकै बहुमाध्यमको प्रयोगबाट विभिन्न भावलाई प्रस्तुत गर्ने कला भएको बताउनुभयो । उहाँले प्राकृतिक वस्तुको प्रयोगबाट प्रकृतिसँगको सम्बन्धलाई अत्यन्त सुन्दर ढङ्गले कलाकारले प्रस्तुत गर्नुभएको बताए ।

 

हार्तम्छालीले कुनै पनि वस्तु स्वयंले बोकेको भावलाई कलाकारले फरक बनाउन सक्ने र फरक–फरक वस्तुलाई फरकफरक भावमा प्रस्तुत गर्न सक्ने खुबी कलाकारमा हुने बताउँदै सामाजिक उत्पीडनलाई कलामार्फत समसामयिक विषयवस्तुमा उठान गर्नुपर्ने विचार व्यक्त गरे ।

 

प्रदर्शनीमा कलाकारहरू सागर मानन्धर, सुशिला सिंह, मीना कायस्थ, विनय रिमाल, सुशान्त श्री राजभण्डारीका कला समावेश गरिएको छभने अतिथि कलाकारहरूमा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्य सौरगङ्गा दर्शनधारी, ग्यालरी एमक्युबका संस्थापक मनिषलाल श्रेष्ठ रहनुभएको छ ।

 

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिस्थापन कलाले मानव समाजका लागि प्रकृतिको महत्व कस्तो छ भनेर कलामार्फत देखाउन खोजिएको बताए ।

 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला (बहुआयामिक कला) विभागका प्रमुख सौरगङ्गा दर्शनधारीले प्रकृतिलाई विशेष प्राथमिकतामा राखी प्रकृतिकै काखमा रमाएर दुई साताअघि देखि कला सृजनामा तल्लीन भई सृजित कलाको प्रदर्शनी यही फागुन ३ देखि चैत ३ गतेसम्म सञ्चालन हुने जानकारी दिए ।

 

बिहीबारदेखि सुरु महिनाव्यापी प्रदर्शनीको अवलोकन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मन्त्री साउदले सुदूरपश्चिम प्रदेश पनि कलामा धनी रहेको र कलाको गतिविधिहरू प्रदेशमा सञ्चालन गर्ने विषयमा आफू सकारात्मक रहेको जनाउँदै प्रतिष्ठानको गतिविधिहरूमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Share: