
काठमान्डौ/ नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समिति (रासस)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष राससका गण्डकी प्रदेश कार्यालयका समाचारदाता रामबहादुर थापा र केन्द्रीय कार्यालयका वरिष्ठ कार्यालय सहयोगी राजीनन साहलाई प्रदान गरिने भएको छ ।
सङ्गठनको बैठकले राससको ६३औँ वार्षिकोत्सवका अवसरमा उहाँहरूलाई सो पुरस्कार प्रदान गर्ने सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले जानकारी दिए । पुरस्कारको राशि जनही रु सात हजार पाँच सय रहेको छ । प्रत्येक वर्ष दुई कर्मचारीलाई सो पुरस्कार प्रदान गरिँदै आएको छ । नयाँसडक निवासी पूर्वव्यवस्थापक जोशीको घरबाट विसं २०१८ फागुन ७ देखि राससको समाचार सेवा प्रारम्भ भएको थियो ।
विसं २०६६ मा स्थापित उक्त पुरस्कारबाट यसअघि राजु शाक्य, फिरुराम चौधरी (२०६७), ध्रुवभक्त श्रेष्ठ, बलबहादुर विश्वकर्मा (२०६८), मदन गौतम, शम्भुप्रसाद यादव (२०६९), रमेश मिश्र, पवित्रा गुरुङ (२०७०), कृष्णप्रसाद शर्मा, भोलानाथ पौडेल (२०७१), रामभगत बुढाथोकी, मङ्गलबहादुर जलाहारी (२०७२), न्हुछेराज बज्राचार्य, सागुरसिंह राना (२०७३), जगतकृष्ण श्रेष्ठ, रजनी बज्राचार्य (२०७४), तीर्थप्रसाद भट्टराई, रामलाल श्रेष्ठ (२०७५), विष्णुप्रसाद लामिछाने, हरि बाँस्तोला (२०७६), दीपराज सन्याल, राजेशकुमार श्रेष्ठ (२०७७), मधुसुदन अर्याल, विष्णुबहादुर थापा (२०७८), उत्तम सिल्वाल र रेशमा शाक्य (२०७९) सम्मानित भइसक्नुभएको छ ।