रामधुनीमा पहिलोपटक रोकियो नित्य पूजा

165
0
Share:

काठमान्डौ/भगवान् रामसँग जोडिएको सुनसरीको पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा पहिलोपटक नित्य पूजा रोकिएको छ । मन्दिरका पुजारी महन्थ काशीदास उदासीले पत्रकार सम्मेलनमार्फत नित्य पूजा रोकिएको जानकारी दिएका हुन् ।

 

मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार डिल्ली कार्की नेतृत्वको टोलीले मन्दिरमा ताला लगाई पूजाआजमा रोक लगाएको हो । रामधुनी मन्दिरका महन्थ काशीदास उदासीले गुठी संस्थानको अधीनस्थ रहेको अधिकारप्राप्त मठलाई बेवास्ता गर्दै रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन नामको समितिका अध्यक्ष डिल्ली कार्की नेतृत्वको समूहले मन्दिरमा ताला लगाएर पराम्परागत रूपमा हुँदै आएको पूजा रोकेको बताए ।

 

रामधुनी मन्दिरको इतिहासमै पहिलोपटक नित्य पूजा रोकिएको उनको भनाइ छ । उदासीले त्यसबेला तीन दिनसम्म रोकिएको नित्य पूजाबारे समितिको धाकधम्कीका कारण बोल्न नसकेको भन्दै बाध्य भएर ढिलै भए पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको बताए ।

 

बाबा वनखण्डी उदासीन आश्रम रामधुनी गुठी, पञ्चायती उदासीन बडाअखडा सुनसरी– ४, रामधुनीले आयोजना गरेको पत्रकार सम्मेलनमा बाबा वनखण्डी उदासीन आश्रम रामधुनी गुठी श्री पञ्चायती उदासीन बडाअखडाका अध्यक्ष मोहिनारायण चौधरीले कार्की नेतृत्वको समितिले गौशालामा रहेका गाईवस्तु बेचेको, पुरातात्विक महत्त्व बोकेका बोटबिरुवासहितको रुख काटेर बेच्ने काम गरेको र जथाभावी कंक्रिटका संरचना निर्माण गरी रामधुनीको अस्तित्व नामेट पार्ने काम गर्दै आएको आरोप लगाए । कार्कीले धार्मिक संस्थाका नाममा एनजीओ चलाउँदै आएको उनको आरोप छ ।

 

नेपाल सरकार गुठी संस्थानले रामधुनी मठ सुनसरीका नाममा मठ परिषद्को २२ हेक्टर र सोवरिपरिको धार्मिक वन ६११ हेक्टरलगायत आसपासका जग्गाहरू मठको नाममा रामधुनी गुठी तैनाथी जग्गा दर्ता गरिदिने व्यवस्थाअनुसार मठका नाममा धार्मिक तथा सांस्कृतिक संरक्षण गर्ने गरी दर्ता गर्ने आदेश दिएअनुसार मठ गुठी संस्थानको अधीनस्थ हुँदाहुँदै रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले अनधिकृत रूपमा हस्तक्षेत्र गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।

 

उता आरोप लगाइएका समितिका अध्यक्ष डिल्ली कार्कीले भने आफूमाथि लगाइएको आरोप सरासर निराधार र झुटो भएको बताएका छन् ।

 

Share: