टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्र निर्माण

Share:

काठमान्डौ/ सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ । यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ ।

 

सङ्घीय सरकारले प्रदेशको डोटीमा सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने गरी काम गरिरहेका बेला प्रदेश सरकारले प्रदेशस्तरीय सरुवा रोग अनुसन्धान केन्द्र कैलालीको टीकापुरमा बनाउने निर्णय गरेको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत २०७८ सालमा भवन निर्माणको काम थालिएको थियो । तत्कालीन समयमा अन्तिममा भवन निर्माणको काम सुरु भएपछि काम समयमा सम्पन्न हुन नसक्दा भवन निर्माणको काम एक वर्ष पछाडि धकेलिएको थियो । रु दुई करोडको लगानीमा पहिलो दुई तलासम्मको काम भएको भवनको यस वर्ष बाँकी काम सम्पन्न गरेर सञ्चालनको प्रक्रियामा लैजाने तयारी प्रदेशको रहेको छ । यस वर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भवनको बाँकी कामको लागि रु दुई करोड बजेट विनियोजन गरेको छ ।

 

विनियोजन भएको बजेट बोलपत्र प्रक्रियामा गएर सम्झौताको लागि निर्माणका लागि छनोट भएको निर्माण कम्पनीलाई पत्र पठाइसकेको मन्त्रालयका इन्जिनियर होमराज तिमिल्सिनाले जानकारी दिनुभएको छ । ‘मन्त्रालयले दुई करोडको टेन्डर आह्वान गरेकोमा १२ कम्पनीले सिलबन्दी बोलपत्र पेस गर्नुभएको थियो । त्यसबाट बिबि खप्तड जेभीले भवनको काम पाएको छ ।’ उनले भने , ‘चालु आवभित्र संरचनाको काम सम्पन्न हुने गरी मन्त्रालयले निर्माण कम्पनीले सम्झौता गर्नेछ ।’ उनका अनुसार ठेक्का पाएको निर्माण कम्पनीले करिब ३२ प्रतिशत कम रकममा बोलपत्र पेस गरेको छ ।

 

संरचनाको काम सम्पन्न भएपछि सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाइने सामाजिक मन्त्रालयका सचिव गणेश सिंहले बताए । उनले अहिले भवन निर्माणकै चरणमै रहेको जनाउँदै त्यसपछि जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले काम अगाडि बढाउने बताएका छन् । ‘प्रदेशका लागि सरुवा रोग अनुसन्धान केन्द्र एउटा महत्वपूर्ण संरचना हो । त्यसलाई महत्वका साथ हेरिएको छ’, उनले भने , ‘चालु आवमा भवन निर्माणको काम सकिएपछि नयाँ आवमा त्यसको नयाँ योजना तयार हुनेछ ।’ उनले सरुवा रोग अनुसन्धान केन्द्रले प्रदेशको स्वास्थ्य क्षेत्रलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

 

टीकापुर अस्पताल परिसरभित्र निर्माण हुन लागेको सरुवा रोग अनुसन्धान केन्द्रले टीकापुर अस्पतालको स्तरोन्नतिमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ । अनुसन्धान केन्द्र टीकापुरमा स्थापना हुनु सुखद् पक्ष भएको जनाउँदै टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । ‘सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा आउन आक्यो भने त्यसले टीकापुर अस्पताललाई पनि फाइदा पुग्नेछ ।’अस्पताल व्यवस्थापन समितिका उनले भने , ‘स्वास्थ्य क्षेत्रको विकासमा पनि सरुवा रोग अनुसन्धान केन्द्रले टेवा पुग्नेछ ।’प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा मजबुत बनाउने काममा सरुवा रोग अनुसन्धान केन्द्रले सहयोग पुग्ने विश्वास अध्यक्ष सोडारीले गर्नुभएको छ ।

 

उनले टीकापुर अस्पताल कैलालीको पुर्वी क्षेत्रलगायत कर्णाली र लुम्बिनी प्रदेशका सेवाग्राहीका लागि पनि महत्वपूर्ण रहेको बताए । ‘प्रदेशको मातहतमा रहेको टीकापुर अस्पतालले यतिबेला छ किसिमका विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । सेवा विस्तारको क्रममा अस्पतालले स्थानीय तहसँग पनि समन्वय गर्दै आएको छ ।’ अध्यक्ष सोडारीले भने , ‘अस्पतालमा भवनको अभाव र उपचारका लागि उपकरणको अभाव छ । त्यसको समाधानका लागि पनि भोलिका दिनमा सरुवा रोग अनुसन्धान केन्द्र बन्यो भने प्रदेशको ध्यान त्यसमा जाने म बेला अस्पतालमा समेत पुग्ने विश्वास छ ।’

Share: