Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राजनीतिसँगै कृषिकर्ममा पूर्वप्रमुख चौधरी – Lekhanpeeth

राजनीतिसँगै कृषिकर्ममा पूर्वप्रमुख चौधरी

183
0
Share:

काठमान्डौ/ ज्यूँदै मर्‍याको भनि नाम छ कस्को ?
उद्यमबिना बित्तछ काल जस्को ।

 

आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी कविताका यी पङ्क्ति उद्यम गर्नेका लागि प्रेरित छन् । तर धेरैले यसको भाव अनुशरण गरेका हुँदैनन् । अझ राजनीतिमा सक्रिय अधिकांश मानिसहरू त कुनै इलमबिनै रहरलाग्दो जीवन बाँचिरहेका पनि देखिन्छन् । एकपटक सार्वजनिक लाभको पद र जिम्मेवारी बहन गरिसकेपछि बाँकी के चाहियो र ? भन्नेहरू पनि छन् । तर यो धारणा सधैँ र सबैका लागि लागू नहुनसक्छ । त्यसैको उदाहरण हुनुहुन्छ सिरहाको धनगढीमाई नगरपालिकाका पूर्वप्रमुख हरिनारायण चौधरी ।

 

विसं २०७४ को स्थानीय निर्वाचनबाट नगरप्रमुख हुनुभएका चौधरीले आफ्नो कार्यकाल सकिएसँगै राजनीतिसँगै कृषिलाई मुख्य पेसा बनाउनुभएको छ । ‘सार्वजनिक पदमा हुँदा वा नहुँदा पनि मैले कृषिकर्म छोडिनँ । मलाई माटोमा नङ्ग्रा खियाउन, भकारो सोर्न, डोको बोक्न कहिल्यै अप्ठ्यारो लागेन । मेरो यो कर्म पछिल्लो एक दशकदेखि चलिरहेको छ’, चौधरीले रासससँग भने , ‘नगरप्रमुखको जिम्मेवारी सकिएपछि त झनै सक्रियताका साथ लागेको छु । काम त गरिखानुपर्यो नि सबैले ।’

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहनुभएका चौधरीले आफ्नो आम्दानीको स्रोत नै कृषि पेसा बताएका छन् । उनले डेढ बिघामा तोरी, दुई बिघामा हिउँदे मकै र अढाई बिघामा घाँसखेती गरिरहेका छन् । एउटै याममा १५ क्विन्टल तोरी, ९० क्विन्टल हिउँदे मकै र घाँस तथा बीउ बेचेर करिब रु १० लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए ।’राजनीतिमा नाम छ तर आर्थिकरूपमा जीवन धान्न धौधौ छ । राजनीति विशुद्ध समाजसेवा हो । त्यसैले परिवारको जोहो टार्न र जीवनयापन गर्न केही त गर्नैपर्छ’, चौधरी भन्छन , ‘त्यसैकारण मैले व्यावसायिक कृषि सुरु गरेको हुँ । अहिले राजनीतिमा मात्रै हुँदाजस्तो आर्थिक अभाव झेल्नुपरेको छैन ।’

 

उनि सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै त्यसको उदाहरण आफैँबाट सुरु गर्नुपर्ने मान्यतासहित उद्यममा जोडिएको बताए । ‘सार्वजनिक ओहोदामा रहेका व्यक्तिबारे गलत धारणा छ । काम नगरेरै बाँचिरहेका छन् भन्ने आरोप बारम्बार सुन्नुपरिरहेको छ । त्यो स्वाभाविक पनि हो । समाजलाई डोहोर्याउने जिम्मेवारीमा रहेका नेतृत्वकर्मीले बोलेरभन्दा पनि व्यवहारबाटै जवाफ दिन आवश्यक छ । अहिले कृषिकर्ममा जोडिएपछि मैले परिवारको जीवनयापन सहजरूपमा गर्न सकेको छु । साथै राजनीतिकर्मीका रूपमा लाग्ने गरेको आरोपबाट पनि मुक्ति मिलेको आभास हुने गरेको छ’, उनले भने । राजनीतिकर्मी वा सार्वजनिक ओहदामा बसेका व्यक्तिलाई उद्यमबाट आर्जेको पैसाभन्दा त्यसबाट कमाएको इमान र प्रतिष्ठाले अझ बढी खुसी मिल्ने गरेको बताउने चौधरीले अहिले तीन छोराछोरीको पढाइ, घरपरिवारको लालनपालन र आवश्यकतामा ढुक्कले दुई पैसा खर्च गर्ने साहस पनि बढेको बताए ।

 

चौधरीको व्यावसायिक कृषिकर्ममा बढेको लगावले परिवारको आम्दानीमात्रै बढेको छैन त्यसबाट आर्जेको सामाजिक प्रतिष्ठाले अझ बढी खुसी दिने गरेको छ । त्यो खुसीले उनकी श्रीमती बचकुनदेवी चौधरीको खुसीको दायरा पनि फराकिलो बनाएको छ । ‘गाउँघरमा राजनीतिकर्मी केही गर्दैनन् भन्ने आरोप सुन्छु । पहिले मेरो श्रीमान्को पनि कुरा काटेको सुन्थेँ । मन अमिलो हुन्थ्यो’, बचकुनदेवीले भने , ‘श्रीमान्ले राजनीतिलाई समाजसेवा र कृषिकर्मलाई आम्दानीको स्रोतका रूपमा अपनाएपछि अहिले भने राम्रो प्रतिक्रिया सुन्छु । त्यसो सुन्दा राजनीतिक नाम, पद, पैसाभन्दा उद्यमबाट आर्जेको प्रतिष्ठा ठूलो हुँदोरहेछ जस्तो लाग्यो । र यसले निकै खुसी हुन्छ ।’

 

चौधरीले कृषिकर्म गरे पनि पार्टी काम छोड्नुभएको छैन । त्यसरी राजनीतकर्ममा व्यस्त भएका बेला खेतीपाती सम्हाल्ने सारथी पनि श्रीमती बचकुनदेवी नै हुनुहुन्छ ।

 

उत्पादनसँग जोडिऔँ

 

अधिकांश जनता कृषि पेसामा भए पनि राज्यको लगानी र सामाजिकरूपमा हेयको दृष्टिले हेर्दा उचित लाभ लिन नसकिएको चौधरीको बुझाइ छ । उहाँले कृषिबाटै नेपाललाई समृद्ध बनाउने सोचसहित अगाडि बढ्नुपर्ने जरुरी रहेको बताए । सोही भावनाअनुसर आफू नगरप्रमुख भएका बेला धनगढीमाई नगरपालिकाका किसानलाई प्रोत्साहन, आलु पकेट क्षेत्र घोषणा र सहयोगलगायतका काम गरेको उनले सुनाए ।

 

‘हामीसँग उर्बर माटो छ । अनुकूल वातावरण छ’, उनले भने , ‘सिँचाइ सुविधा, समयमै मलखाद, कृषि पूर्वाधारमा लगानी, उत्पादनको बजारीकरण गर्ने राज्यको नीति र आफ्नो माटोलाई माया गर्ने हुने हो भने यहाँ अन्न मात्र होइन सुनै फलाउन सकिन्छ भन्ने आत्मविश्वास नागरिकमा जगाउन जरुरी छ ।’जनतालाई परिवर्तनमा ल्याउने तथा आत्मनिर्भर र राष्ट्रिय स्वाभिमान निर्माण गर्ने माओवादीका नेता कार्यकर्ताले त उत्पादनमा जोडिएर उदाहरण पेस गर्नुपर्ने बेला आएको चौधरीको भनाइ छ । माओवादीले विसं २०६९ माघमा हेटौँडामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका नेता, कार्यकर्ता उत्पादनसँग जोडिने नीति पास गरे पनि त्यसअनुसार हुन नसकेकामा चौधरीको चित्त दुखाइ छ ।

 

‘जनयुद्धमा हुँदाका सपना त छँदैछन् । हाम्रो पार्टीको हेटौँडा महाधिवेशनले उत्पादन ब्रिगेडको नीति अख्तियार गर्यो तर नेताहरूले सोअनुसारको व्यवहार अङ्गिकार गर्न सकिएन । हरेक नागरिक र पार्टी सदस्यलाई श्रम र उत्पादनसँग नजोडी विकास र समृद्धिको सपना पूरा हुन सक्दैन । त्यसैले अधिकांश युवाहरू विदेशिइरहेको बेला नेपालका पार्टीहरूले नै श्रम र उत्पादनसँग जोड्ने अभियान सुरु गर्नुपर्छ’, उनले भने ।

 

राजनीति पेसा होइन, सेवा हो

 

राजनीतिलाई सेवाभन्दा पनि पेसा बनाउने प्रवृत्ति बढ्दै गएकामा पनि चौधरीको चिन्ता छ । देशमा बेतिथि र कुशासनको जड पनि परनिर्भर संस्कृतिको विकास हो भन्ने चौधरी आफ्ना दैनिक आवश्यकता चलाउनसमेत आम्दानीको स्रोत नभएका व्यक्तिहरूबाट राजनीति स्वच्छ हुन्छ भन्ने कुरा नागरिकले पत्याउन छाडिसकेको धारणा राख्नुहुन्छ ।’राजनीतिमा उद्योग, व्यापार, जागिर वा आयआर्जनको अरु केही कुरा छैन तर पनि अधिकांशले ऐयासी जीवन बिताइरहेका छन् । त्यो प्रवृत्तिबाट देशको हित हुन सक्दैन र नागरिकलाई आशावादी पनि बनाउन सकिँदैन’, चौधरी भन्छन् , ‘समृद्धि, सुशासन, निराशाको अन्त्य र आम युवाहरूमा आशाको सन्देश फैलाउन पनि हरेक पार्टी र पार्टीका नेता, कार्यकर्ता उद्यमशील बन्न सक्नुपर्छ । म आफैँले त्यो बाटो रोजिसकेको छु । अरुलाई पनि आह्वान गर्छु ।’

Share: