
काठमान्डौ/ नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताउनुभएको छ । उहाँले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थतन्त्रको दीर्घकालीन सुधारमा लागेको बताए ।
नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको कार्यक्रता भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले नेपालमा सूचना प्रविधि, पर्यटन र जलविद्युत्मा अथाहा सम्भावना रहेको बताउँदै रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान गइरहेको जानकारी दिए । उनले वर्तमान सरकारले अर्थतन्त्रलाई विस्तारै लयमा फर्काएको सूचकले देखाउन थालेको बताए ।
‘म सरकारमा आउँदा आठ प्रतिशत मूल्यवृद्धि थियो, ब्याजदर १६ प्रतिशत थियो, अधिकांश लगानी जग्गा र शेयरमा गरेकाले प्रतिफल नआउँदा समस्या भयो, आर्थिक सुनिश्चितता नहुँदै धेरै योजना ल्याएका थिए, सहकारीलाई लुट्ने माध्यम बनाउन थालिएको थियो”, उनले भने , ‘तर अहिले ब्याजदर एक अङ्कमा ल्याउन थालिएको छ, आर्थिक वृद्धिदर बढ्न थालेको छ, रातारात आर्थिक सुधार नहुने भएकाले विस्तारै अर्थतन्त्र सुधारोन्मुख भएको छ ।’
वर्तमान सरकार आर्थिक दायित्व भुक्तानी गर्दागर्दै अहिलेको सरकार हैरान परेको अर्थमन्त्री महतले बताउनुभयो । अहिलेको सरकारले तीन करोडभन्दा तलको योजना केन्द्र सरकारले नगरेर प्रदेश सरकारमा पठाउने उनको भनाइ छ । अघिल्लो सरकारले हचुवाका भरमा धेरै योजना ल्याउँदा दायित्व भुक्तानी गर्न असहज भएको उनको भनाइ छ । नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री महतले भावनाले राजनीति नचल्ने भन्दै राजनीतिक पार्टी भनेको सरकार चलाउने र समृद्धि ल्याउने गरी स्थापना भएको बताए ।
अहिलेको संवैधानिक अवस्थामा बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनको औचित्य स्थापित हुँदै जानु वास्तविकता रहेको बताउनुभयो । शान्ति स्थापना गर्न नेपाली कांग्रेसले ठूलो भूमिका खेलेको उनको भनाइ छ । गठबन्धन परिस्थितिले सिर्जना गरेको बताउँदै उपलब्धि हासिल गर्न र एक्लै बहुमत आउन नसक्ने अवस्थामा गठबन्धन सिर्जना गर्न बाध्य भएको अर्थमन्त्रीको भनाइ रहेको छ । गठबन्धन रणनीतिक विषय भएको उहाँको जिकिर छ ।
कांग्रेस पार्टीले योग्य व्यक्ति सबैलाई न्याय गर्न नसकेको बताउँदै त्यसका लागि पार्टीमा पहल गर्ने अर्थमन्त्री महतले बताउनुभयो । कांग्रेस एक्लै बहुमत ल्याउने गरी दृढताका साथ अघि बढ्नुपर्नेमा उनको जोड थियो । बागलुङको पञ्चकोटमा आयोजना भइरहेको अन्नतश्री बह्माण्डीय महायज्ञअन्तर्गत अर्थसंवाद कार्यक्रममा सहभागी हुन अर्थमन्त्री बागलुङ आउनुभएको हो ।यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा शिक्षा सम्मेलन, जनप्रतिनिधि सम्मेलन र कानुन सम्मेलनलगायतका विविध कार्यक्रम आयोजना भइसकेका छन् ।