अन्नपूर्ण आरोहण गर्न काठमाडौं आएकी अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले गरिन् लाङटाङ ट्रेक

162
0
Share:

काठमान्डौ/अन्नपूर्ण-१ हिमाल आरोहण गर्ने तयारीमा रहेकी अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले हालै लाङटाङ पदयात्रा गरेकी छिन् । पूर्व गाईड समेत रहेकी पेपर यही वसन्त ऋतुमा अन्नपूर्ण-१ हिमाल बिना अक्सिजन आरोहण गर्न नेपालमा छिन् । विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु बिना अक्सिजन आरोहण गर्ने उनको लक्ष्य रहेको छ ।

 

लक्ष्य अनसार पेपरले यही वसन्त ऋतुमा अन्नपूर्ण-१ को सफल आरोहण सँगै मकालु र कञ्चनजङ्घा हिमाल आरोहण गर्ने बताइन् । त्यसपछि पाकिस्तानमा रहेको नाङ्गा पर्वत र केटु हिमाल आरोहण गर्ने उनको योजना रहेको छ । त्यस्तै, शरद ऋतुमा उनले शिशापाङ्मा र चोयु हिमाल आरोहण गर्ने र बाँकी हिमालहरू गशेरब्रुम-२, गाशेरब्रम-१, धौलागिरी, ल्होत्से र सगरमाथा समेत आरोहण गर्ने उनको तालिका रहेको छ ।

 

समुद्र सतहबाट ८,०९१ मिटरको उचाइमा रहेको अन्नपूर्ण-१ विश्वको १०औँ अग्लो हिमाल हो । पेपरले आफ्नो गाइड मिङ्तेम्बा शेर्पा (मिकेल शेर्पा)सँग ४ दिनको लाङटाङ टे्रक गरी फर्केकी हुन् ।पेपरले भनिन्, ‘मिङ्तेम्बा शेर्पा र म लाङटाङ भ्याली ट्रेकबाट भर्खरै फर्केका छौं । यो एक अद्भुत अनुभव थियो । मैले अन्नपूर्ण-१ हिमालको आरोहण तयारीमा लाङटाङ ट्रेक पदयात्रा गरेकी हुँ । हामी अर्को हप्ता अन्नपूर्ण आधार शिविरमा जानेछौँ । लाङटाङको पदयात्रामा हामी स्याब्रुबेशीबाट लामा होटल र क्यान्जिन गुम्पा गयौँ । क्यानजिन गुम्पाबाट हामी क्यान्जिनरी, त्सेर्गो री सम्म हिड्यौं र याला खर्कबाट ५ हजार ८० मिटरसम्म पुग्यौं’ ।

 

उनले थपिन्, ‘लाङटाङ पदयात्राको क्रममा मैले वरपरका हिमाल, लङ्गुर, धेरै राम्रा चराचुरुङ्गी, सुन्दर गाउँ, लज र त्यहाँका मान्छेहरु एक्दम दयालु रहेछन् ।’ पेपर र उनको टोली फागुन २१ गते काठमाडौं आइपुगेका हुन् । उनले एक्सपेडिशन कम्पनी सेभेन समिट ट्रेक्समार्फत आरोहण गर्न लागेकी हुन् ।

 

पेपरले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये दुई वटा हिमालको अक्सिजन बिना सफल आरोहण गरी सकेकी छन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर)को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका बिना अक्सिजन सफल आरोहण गरी सकेकी उनले जानकारी दिइन् ।

 

सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन् । ४८ वर्षीया पेपरले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गर्न २००७ मा नेपालको माउन्ट चोयुबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेकी हुन्

Share: