Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक – Lekhanpeeth

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

Share:

काठमान्डौ/काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहनुभएको छ । नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेका बेला यहाँका वृद्धाले नयाँ पुस्तालाई उक्त सीप हस्तान्तरण गर्ने काम गर्नुभएको हो ।

 

महिलाले सीप सिक्ने इच्छा व्यक्त गरेपछि आफूले जानेको कुरालाई सिकाउने काम गरेको उनले बताए । ‘सिक्न मन लागेको भनेर मन गरेपछि मिम्चा, ढकिचा, पिचा, खंैचा, कलालीलगायत सामग्री बुन्ने सीप सिकाइरहेको छु,’ उनले भने , ‘सिक्ने भनेर इच्छा व्यक्त गर्नेहरुलाई जानेको सीप दिएको हुँ ।’सुरुमा सिकाउँदा अप्ठ्यारो मानेर सिकेकाहरुको बिस्तारै अलिअलि हात बस्दै गएको उनले बताए । त्यसरी सीप सिक्न चाहनेका लागि उहाँसँगै ८६ वर्षीया आशामाया देउला र ८५ वर्षीया दिलमाया देउलाले सिकाइरहनुभएको छ ।

 

पनौती–७ का ललिता नापितले आमाहरुपछि परम्परागत सीप नै हराएर जाने अवस्था भएकाले चोया काट्ने र बुन्ने सीप सिक्न थालेको बताए । ‘पहिला त निकै गाह्रो महसुस भएको थियो, सिक्दै जाँदा सहज हुने रहेछ’, बुनेको मिमिचा देखाउँदै उहाँले भन्नुभयो, ‘यो हाम्रो नेवार समुदायका बालबालिकाको बेलविवाह गर्ने, व्रतबन्ध गर्ने र पूजा गर्ने बेलामा सामग्री राख्नका लागि नभई हुँदैन, यसको आवश्यकता पूरा गर्न अब आफैँ बुन्नसक्ने भएकी छु ।’

 

सँगै सीप सिकिरहनुभएका रिता प्रधानले बुन्न आए पनि थालनी गर्ने र चोया काट्न अझै अभ्यास कम भएको सुनाए । नयाँ पुस्तालाई खासै चासो नभएको अवस्थामा यहाँका महिला भने चोयाबाट बन्ने विभिन्न सामग्री बुन्ने सीप सिकिरहनुभएको छ ।परम्परागत सीप हस्तान्तरणका लागि पनौती पर्यटन विकास केन्द्रले तालिमको आयोजना गरेपछि यहाँका महिलाले सो अवसर पाएका हुन् । एकातिर जन्मदेखि मरणसम्म आवश्यक गर्ने सामग्री बनाउने सिप सिक्न पाउनु र अर्कोतिर सजावट तथा कलात्मक सामग्री बनाउने तालिम लिन पाउनु खुसीको कुरा भएको सहभागीको भनाइ छ ।

 

‘सामग्री देख्दा कसरी बुन्ने र उत्पादन गर्ने होला भन्ने खुल्दुली लागिरहेको थियो, अहिले आएर घरमा नै बसेर सिक्ने अवसर मिल्यो”, पनौती–७ की मेरिना सैँजुले भने , ‘यसले अब परम्परागत सामग्री बनाउनेसँगै व्यावसायिक बन्ने बाटो खुल्ने आत्मविश्वास बढेको छ ।’हरेक पसल, होटल, घर र बजारमा सजाएर राखेको सामग्री देखेर यसले व्यावसायिक रुपमा अगाडि बढ्न मद्दत पुग्ने विश्वास बढेको उनले बताए ।

 

सोही ठाउँकी इन्दिरा नापितले निगालोको चोयाबाट बन्ने सामग्री बनाउने पहिलो अनुभव लिन आएको बताउनुभयो । काम सिक्न पाउनु राम्रो कुरा भएकाले सिक्न थालेको उनले सुनाए । पनौती बजारभरिमा नै तीन वृद्धा आमामा मात्रै बुन्ने सीप भएकामा नयाँ पुस्तालाई हस्तारण गर्न र संरक्षणका लागि सीप सिकेको उनको भनाइ छ । उहाँहरुलगायत तालिममा पनौतीभित्रका ३१ महिलाले सो सीप सिकिरहनुभएको छ । यही चैत ४ गतेदेखि सुरु भएको तालिम आगामी शनिबार समापन हुने पनौती पर्यटन विकास केन्द्रले जनाएको छ ।

 

नेवार समुदायमा जन्मेदेखि नमरुञ्जेलसम्मका लागि आवश्यक पर्ने निगालाका सामग्री बनाउन जान्ने व्यक्तिको पनि अभाव बन्दै जानु र आवश्यक परेका बेलामा बजारमा तत्काल किन्नका लागि पनि खोज्दै हिँड्नुपर्ने अवस्था आएका बेला नयाँ पुस्तालाई उत्पादन गर्ने सीप प्रदान गर्न तालिम आयोजना गरेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताए ।

 

‘नेवार समुदायको बेल विवाह, व्रतबन्ध, विभिन्न जात्रा, पूजाआजा र अन्य विभिन्न कार्यमा आवश्यक पर्ने सामग्री बनाउने सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि तालिमको आयोजना गरेको हो’, उनले भने , ‘यस्तो सामग्री बनाउने सीप पनौतीबजारमा नै तीनजना वृद्धासँग मात्रै छ, उहाँहरु बिरामी हुने बेलामा र कतै जाने बेलामा आवश्यक परेका सामग्री बनाउने व्यक्ति नै नपाउने अवस्थामा पुगेका कारण नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक ठानेर तालिम आयोजना गरेका हौँ ।’

 

सीप सिकाइसँगै त्यसले परम्परा धान्ने, सीप हस्तान्तरण हुने र आम्दानीसमेत गर्न सकिने भएकाले पनि तालिमको आयोजना गरेको उहाँको भनाइ छ । तालिमबाट सिकेको सीपमार्फत उत्पादन हुने सामग्री पर्यटन विकास केन्द्रले खरिद गर्ने र त्यहीबाट बिक्री गर्ने योजनामा विकास केन्द्र रहेको छ ।

Share: