Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अन्न उत्पादन घटेपछि फलफूलखेती गर्दै म्याग्दीका किसान – Lekhanpeeth

अन्न उत्पादन घटेपछि फलफूलखेती गर्दै म्याग्दीका किसान

Share:

काठमान्डौ/अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् ।

 

बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गर्नुभएको छ ।

 

त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा तीनगुणा बढी आम्दानी लिन सफल हुनुभएको छ । रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा मौसमी तथा बेमौसमी सागसब्जी फलाएर मनग्ये आम्दानी गरेको बताउनुभएको छ । उहाँका अनुसार खेतबारीमा गौरिया, गुडुरा, आँगा, जौ धानलगायत रैथाने धानको उत्पादन कम भएपछि अन्नबालीको साटो फलफूलखेती थालिएको हो ।

 

उहाँले भन्नुभयो, “आजकल रैथाने बाली लगाउन मन लाग्दैन । खाना स्वादिष्ट र पोषणयुक्त भए पनि लागतअनुसार उत्पादन नहुँदा गुजारा चलाउन धौधौ भएपछि वैकल्पिक खेती सुरु गरेको हुँ । मुश्किलले रु १२ हजारको अन्न उत्पादन हुने खेतबारीमा सागसब्जी र फलफूलखेती गरेपछि अहिले वार्षिक रु तीन लाखदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको छ ।”

 

जिल्लाका किसानले अन्नबाली लगाउन छाडेपछि केही अन्नको बीउ पाउन कठिन भएको छ । मङ्गला गाउँपालिका–५ का किसान मनप्रसाद सापकोटाले गाउँमा गौरिया र गुडुरा धानको नपाइएको बताउनुभयो । गौरिया धानमा लगातार तीन वर्षसम्म रोग लागेर उत्पादन कम भएपछि खेती गर्न छाडिएको हो । “रोग र किराको प्रकोपले सोचेअनुसार उत्पादन नहुँदा हामीले यसको खेती घटाउँदै गएका छौँ”, उहाँले भन्नुभयो, “बर्सेनि नयाँ रोगले बाली नष्ट हुन्छ, पहिलाको जस्तो उत्पादन हुँदैन ।”

 

हिमाली क्षेत्रमा फल्ने चिनो, कागुनो, उवा, फापर, आँगा, गौरिया, गुडुरा, ताकमारे, जौ, धान, कोदो, सिमी, जुनेलो, सिलाम र जौलगायत रैथाने बाली सङ्कटमा पर्न थालेका कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ ।

Share: