
काठमान्डौ/आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो ।चैत २७ गते सम्पन्न हुने परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित आवश्यक तयारी गरिएको उनले बताए ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए । परीक्षामा केही परीक्षार्थीको सङ्ख्या घटेको हुनसक्ने परीक्षा नियन्त्रक पौडेलले बताउनुभयो ।उनका अनुसार कुल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।
परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनैपर्ने जानकारी दिए ।परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।
परीक्षा हलभित्र पर्यवेक्षण गर्न र तस्बिर लिन रोक आजदेखि सुरु भएको यस वर्षको एसइई परीक्षाको हलमा प्रवेश गरेर पर्यवेक्षण गर्न र तस्बिर लिन रोक लगाइएको छ ।परीक्षार्थीले परीक्षा दिइरहेका अवस्थामा हलभित्र प्रवेश गरी पर्यवेक्षण गर्ने र तस्बिर खिच्ने गरिएकाले उक्त कार्य गर्न नपाउने निर्णय गरेपछि पत्रकार, पर्यवेक्षक वा अन्य व्यक्तिलाई तस्बिर खिच्न रोक लगाइएको शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरकी प्रमुख कमला ज्ञवालीले जानकारी दिए । समितिकोे बैठकले गरेको निर्णयानुसार आजदेखि सुरु भई १७ गते सम्पन्न हुने एसइई परीक्षाको हलभित्र परीक्षा दिइरहेको अवस्थामा प्रवेश गरी तस्बिर लिन रोक लगाएको उनले जानकारी दिए ।
परीक्षा हलमा अनुगमन, पर्यवेक्षक र पत्रकारको नाममा जथाभावी प्रवेश गर्ने र तस्बिर लिने गर्दा विद्यार्थीलाई परीक्षामा बाधा पुग्ने गुनासो धेरै ठाउँबाट आएपछि यस्तो निर्णय गरिएको ज्ञवालीले जानकारी दिनुभयो ।उहाँका अनुसार शिक्षा विकास तथा समन्वय एकाइसँग समन्वय गरी आधिकारिक परिचयपत्रसहित बाहिरी वातावरणको मात्र पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको छ । भक्तपुरका २४ परीक्षा केन्द्रमा छ हजार बढी विद्यार्थी सहभागी छन् ।



