
काठमान्डौ/नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेलमा वेस्ट इन्डिजले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओधरमा ३ विकेट गुमाउँदै २२७ रन जोड्यो । वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले शतक प्रहार गरे ।
नेपालका लागि सागर ढकाल र करण केसीले समान १–१ विकेट लिए । नेपालले एक विकेट रनआउट गरेको थियो । आजको खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानको जिम्मेवारी सम्हाल्लेका छन् । अघिल्ला खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आज विश्राम दिइएको छ ।
आजको खेलमा लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् । यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।
यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । टी–२० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास खेलको रूपमा लिएको छ । नेपालले टी– २० विश्वकपको टिम सम्भवतः आजै सार्वजनिक गर्दै छ । आज टी–२० विश्वकपको टिम सार्वजनिक गर्न आइसीसीले दिएको डेडलाइनको अन्तिम दिन हो ।