कोसीका प्रदेश प्रमुखविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

140
0
Share:

काठमान्डौ/कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङविरुद्धको रिटमा आज सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । न्यायाधीश हरि फुयाँलको इजलासमा परेको रिटमा अन्तरिम आदेश नगरेको हो ।

 

कोसीका निर्वमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ । कार्कीले नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध दायर गरेको रिटमा सर्वोच्चमा आज सुनुवाइ भएको हो । कार्कीको पक्षमा शम्भु थापा, अपूर्ण खतिवडा, हरिहर दाहाल, अच्युतकृष्ण खरेल, बद्रीबहादुर कार्कीसहितले बहस गरेका थिए । कार्कीले आफू मुख्यमन्त्री हुँदाहुँदै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेको भन्दै त्यसलाई खारेज गरी आफ्नो पदलाई निरन्तरता दिन माग गरेका छन् ।

 

उनको वारेसमार्फत अधिवक्ता सुप्रेक्षा जोशीले बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन् । रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा संकल्प प्रस्तावक रेवतिरमण भण्डारी, समर्थक किशोरचन्द्र दुलाल र गणेश उप्रेतीलाई विपक्षी बनाइएको छ ।

 

कोसीमा एमालेका हिक्मत कार्की बिहीबार मुख्यमन्त्री नियुक्त भई कार्यभार सम्हालेका छन् । एमाले–माओवादीका ५२ सांसदको समर्थनमा उनी नियुक्त भएका हुन् । यसअघि ती दुई दलले प्रदेशसभाबाट वैशाख ७ गते संकल्प प्रस्ताव पारित गराई मुख्यमन्त्रीलाई विश्वासको मत लिन भनेका थिए । कार्की सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेबमोजिम वैशाख ३१ लाई डाकिएको छ ।

 

नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त भएका केदार कार्कीले विश्वासको मत प्राप्त गरिसकेकाले दुई वर्ष लिन नपर्ने जिकिर गरेका छन् ।

Share: