Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नगरपालिकाले झुल दिएपछि हर्षित विपन्न समुदाय – Lekhanpeeth

नगरपालिकाले झुल दिएपछि हर्षित विपन्न समुदाय

Share:

काठमान्डौ/लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन् । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीहरू झुलबिनै रात बिताउन बाध्य छन्।

 

चरम गरिबीमा रहेकी लहान नगरपालिका–१५ की दुखी सदाय मङ्गलबार एकाएक हर्षित भए। यसको कारण थियो नगरपालिकाले उनलाई निःशुल्क प्रदान गरेको झुल। ‘बिहान–बेलुका छाक टार्ने टुङ्गो छैन, कहाँबाट झुल किन्न सक्नु र हजुर १ दिनभरि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी छु । एक दिन काम नगरे भोकै बस्नुपर्ने हुन्छ,’ उनले भने।

 

सोही वडाकी ललितदेवी सदायले पनि झुल प्राप्त गरेपछि हर्ष प्रकट गर्दै भनिन्, ‘हामी गरिबका लागि पनि सरकार रहेछ । मेयरसा’बलाई धेरै धन्यवाद।’ गर्मीयाम सुरु भएसँगै लामखुट्टेबाट नगरवासीलाई जोगाउन ललितदेवी, दुखी सदायजस्तै यहाँका दलित तथा विपन्न समुदायका परिवारलाई झुल वितरण अभियान नगरपालिकाले सुरु गरेको छ। मङ्गलबार वडा नं १५ ढोढ्नाबाट दुई सय ७५ दलित तथा विपन्नलाई झुल वितरण गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले राससलाई जानकारी दिए।

 

‘एक घर, एक झुल’ अभियान सञ्चालन गरी नगरपालिकाभित्रका गरिब, मजदुर तथा विपन्न परिवारलाई मलेरिया, डेङ्गुलगायत अन्य प्राणघातक रोगबाट बचाउन आफू लागिपरेको नगरप्रमुख चौधरीले बताए।

 

‘गर्मी र वर्षात्को मौसम सुरु भएपछि लामखुट्टेको प्रभाज बढेको छ । उनीहरूलाई बिरामी हुनबाट जोगाउन नगरपालिकाको तर्फबाट झुल वितरण गरेका हौँ’, उनले भने, ‘एउटा झुल पर्याप्त नभए पनि समुदायमा लामखुट्टेको टोकाइबाट लाग्ने प्राणघातक रोगबाट बच्न झुल लगाउनुपर्छ भन्ने चेतना जागृत हुनेछ । स्थानीयको मागअनुसार नै झुल वितरण गरिएको हो।’

 

नगरप्रमुख चौधरीका अनुसार नगरका २४ वटै वडाका गरिब, विपन्न र दलित परिवारलाई पालैपालो झुल वितरण गरिने छ। वडा सदस्य तथा नगरपालिका न्यायिक समितिको सदस्य रामकुमारी दासले झुल वितरण अभियानले दलित समुदायका बालबच्चा तथा महिलालाई सुरक्षित राख्न मद्दत पुग्ने बताए।

Share: