न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भन्नेले नै फुटपाथ बढाउँदा विरोध गरे : बालेन

103
0
Share:

काठमान्डौ/काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले न्युरोडको सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरूले नै अहिले फुटपाथ बढाउँदा विरोध गरेको बताएका छन् ।

 

न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन्,’ बालेनले फेसबुकमा लेखेका छन्, ‘सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’

 

सडक विभागले बनाएको मापदण्ड कार्यान्वयन गर्न ल्याइएको हो कि होइन भनेर पनि बालेनले प्रश्न उठाएका छन् । ‘सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला,’ उनले भनेका छन् ।

 

उनले विकासको काम गर्न खोज्दा आफूसँग प्रतिशोध लिन खोजिएको उल्लेख गरेका छन् । ‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ,’ बालेनले भनेका छन्, ‘विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यावसायिक, सुन्दर बनाउँन एकजुट बनौँ ।’

Share: