
काठमान्डौ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोहरमैलालाई मजाकको विषय नबनाउन आग्रह गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि दुई घण्टे अभियान’ले आज आयोजना गरेको अरनिको राजमार्ग सफाइ अभियानको बेलुन उडाएर उद्घाटन गर्दै अध्यक्ष ओलीले फोहरमैला व्यवस्थापनमा अभियानमा सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त गरे ।
उनले भने, ‘फोहरमैला मजाकको विषय होइन, फोहरमैला प्रतिशोधको विषय पनि होइन, यो गैरजिम्मेवारी प्रदर्शन गर्ने विषय पनि होइन, फोहरमैला व्यवस्थापन गर्ने जिम्मेवारी हामी सबैको हो । यसलाई कर्तव्यका रूपमा लिई फोहरमैला व्यवस्थापन अभियान सफल बनाउन सबैसँग अनुरोध गर्दछु ।’
उनले वातावरण दिवसका दिन एक–दुई गोष्ठी, सभासम्मेलन र औपचारिक वृक्षरोपण गरेर मात्र प्रदूषण नरोकिने उल्लेख गर्दै वातावरण संरक्षण अभियानमा समाजका सबै तहतप्काबाट साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले भने, ‘हिमाल हामीसँग छ, यसलाई सुरक्षित राख्नुपर्छ । हिमालमा हिउँ भयो भने मात्र अस्वाभाविक रूपमा वृद्धि भइरहेको पृथ्वीको तापक्रमलाई सन्तुलनमा राख्न सकिन्छ, अन्यथा अकल्पनीय समस्या व्यहोर्न पर्छ, त्यसतर्फ समयमै सजग एवं सचेत भई वातावरण जोगाउने अभियानमा सरिक होऔँ ।’