‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा

Share:

काठमान्डौ/प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर हुनेमा आशा पलाएको छ । आगामी आव २०८१/८२ को बजेटमा ‘गुरिल्ला ट्रेक’लगायत पर्यटन गन्तव्यमा पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । बजेटमा समेटिएपछि सो पदमार्गको विकास तथा प्रवर्द्धन हुनेमा स्थानीय र पर्यटनकर्मी आशावादी छन् ।

 

बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पालाई समेटेर विसं २०६८ मा गुरिल्ला ट्रेकको पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गरेका थिए ।

 

माओवादी आन्दोलनमा ‘चुनुवाङ बैठक’ बहुचर्चित मानिन्छ । सोही बैठकबाट माओवादीले जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने निर्णय लिएको थियो । गुरिल्ला ट्रेक जनयुद्धको उद्गमस्थल मानिने रोल्पाको थवाङसहित जनयुद्धले सघन प्रभाव पारेका ठाउँलाई समेटेर नक्साङ्कन गरिएको थियो । पहिलोपटक उक्त पदमार्ग पहिचान गर्ने टोलीमध्येका एक सदस्य सुरेन्द्र रानाले बजेटमा गुरिल्ला ट्रेकका नाम आउनु सकारात्मक भए पनि त्यसको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताए ।

 

“गुरिल्ला ट्रेकको गाइड बुक, म्याप सन् २०१२ मा बनिसकेको छ, हामीले महिनौँ लगाएर यो पदमार्ग पहिचान गरेका थियौँ, सुरुसुरुमा केही प्रवद्र्धनका काम पनि भए, पछि बिस्तारै ओझेलमा पर्दै गयो”, उनले भने, “पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने दायित्व राज्यको हो, बजेटमा घोषणा गरेर मात्र हुँदैन, कार्यान्वयन हुनुपर्छ ।” उनले सडक सञ्जाल विस्तारले पुराना र चल्तीका पदमार्ग सङ्कटमा परेको भन्दै तिनको संरक्षण गर्नुपर्ने बताए ।

 

“विकासको रफ्तारलाई हामी रोक्न त सक्दैनौँ, सडक पनि जनताको सेवाका लागि हो, तर अब देशभरका पदमार्गको पुनः नक्साङ्कन गर्नुपर्ने अवस्था आउँदैछ, वैकल्पिक पदमार्गको योजनामा हामी जानुपर्छ”, रानाले भने, “गुरिल्ला ट्रेकमा पनि ठाउँठाउँमा सडकले छिचोलेका कारण मौलिकता गुम्ने डर छ, यो नेपालको पर्यटन क्षेत्रकै लागि चुनौतीको विषय हो ।”

 

उनका अनुसार प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहन, रीतिथिति आदि गुरिल्ला ट्रेकका विशेषता हुन् । “गुरिल्ला ट्रेक भर्जिन गन्तव्य हो, यसको ब्रान्डिङ गर्नु जरुरी छ”, उनले भने, “नाम चलेका पदमार्ग छोटिँदै र मासिँदै गएका बेला गुरिल्ला ट्रेकबाट नेपालको पर्यटन क्षेत्रले लाभ लिन सक्छ ।”
१४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुङ्गिन्छ । मध्यम दुरीको पदयात्रा गर्न १९ दिन लाग्ने पुनले बताए । जुन बेनी, दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटतिर जोडिन्छ । मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुग्न सकिने पुनले बताए । सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुमलाईसमेत समेट्ने उनको भनाइ छ ।

 

पूर्वाधार सम्पन्न बनाएर विश्व पर्यटन बजारमा ‘ब्रान्डिङ’ गर्न सके गुरिल्ला पदमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने उनको भनाइ छ । पर्यटक पथप्रदर्शक गुरुङले गुरिल्ला पदमार्गमा माओवादी जनयुद्धका चिनारी र अवशेषको पनि अनुभव बटुल्न पाइने उल्लेख गरे ।

 

उनका अनुसार बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको ढोरपाटन सिकार आरक्ष यो ट्रेकको प्रमुख आकर्षण हो । “गुरिल्ला ट्रेकबारे पुस्तक पनि प्रकाशित छ, गुगल नक्सा पनि उपलब्ध छ”, उनले भने “अरू पदमार्गको भन्दा बेग्लै अनुभवका लागि गुरिल्ला ट्रेक रोज्न सकिन्छ, साहसिक र रोमाञ्चक यात्रा रुचाउनेका लागि यो उपयुक्त गन्तव्य हो ।”

 

रुकुम पूर्वको भूमे गाउँपालिका–९ का अध्यक्ष विनोद बुढाले पछिल्लो समय गुरिल्ला पदमार्गको चर्चा सेलाउँदै गएको बताए । “सुरुसुरुमा प्रचारमा पनि आयो, पूर्वाधार निर्माणका केही काम पनि भए तर अहिले यो ट्रेक ओझेलमा परेको छ, पर्यटक आएको पनि देखिन्न”, उनले भने ।

Share: